मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा रास्वपाको दस्ताबेज बोलोस् : विश्वप्रकाश शर्मा

baahrakhari.com · Tue Jun 23 10:25:28 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रियता, लोकतन्त्र, सुशासनको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट हुन जरुरी रहेको बताएका छन् ।

कांग्रेस झापाको जिल्ला भेलालाई मंगलबार सम्बोधन गर्दै उनले रास्वपाको प्रथम महाधिवशेनले यी विषयमा स्पष्ट ढंगले अभिव्यक्त गर्नुपर्ने बताए ।

“रास्वपा मान्दछ, प्रधानमन्त्रीले भनेझैँ नेपालले भारतको सीमा मिचेको छ ?” शर्माले भने, “हो भने कहाँ–कहाँ ? रास्वपाको दस्ताबेज बोलोस् ।”

नभए प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्‌मा गएर अभिव्यक्ति फिर्ता लिन रास्वपाले भन्नुपर्ने उनको भनाइ छ ।

"प्रधानमन्त्रीको धारणाउपर, पार्टीको कुनै लिखितम् धारणा महाधिवेशनमा बन्दैन, बनाउन सकिन्नँ भने पार्टी नेतृत्व र महाधिवेशन प्रतिनिधिले आफैँलाई सोध्नुपर्छ प्रधानमन्त्रीका अघिल्तिर रास्वपा नामक दलको के कुनै अर्थ छैन ?” उनले भने ।

लोकतन्त्रका विषयमा पनि रास्वपा स्पष्ट हुनुपर्ने शर्माको भनाइ छ । नागरिकलाई विकल्प नदिइ वर्षाको बेला घर भत्काइदिनु लोकतान्त्रिक व्यवस्थाको सौन्दर्य हो ? भन्ने उनको प्रश्न थियो ।

राष्ट्रपति बोलिरहँदा प्रधानमन्त्री उठेर हिँडेको विषयमा पनि उनले प्रश्न उठाए । प्रधानमन्त्रीले संसद्‌मा समय दिनुपर्ने उनको भनाइ छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका बारेमा पनि शर्माले प्रश्न उठाए ।

“विगतमा भ्रष्टाचारको मुद्दा दर्ता हुँदा सांसदको पद निलम्बन हुन्थ्यो । रास्वपा संसद्‌मा ठूलो दल बनेपछि निलम्बन हुनुनपर्ने नियमावली ल्याइयो," शर्माले भने, "यो सही भएको छ भन्ने रास्वपाको महाधिवेशन ठान्दछ ?"

उनले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिको स्रोतको बारेमा पनि प्रश्न उठाए । “प्रधानमन्त्री र मन्त्रीको सम्पत्तिमा देखिएको तोलाका तोला सुनको स्रोत के हो ? रास्वपाको महाधिवेशनले त्यो स्रोत स्पष्ट गर्न आफ्ना मन्त्री र प्रधानमन्त्रीलाई निर्देशन दिने प्रस्ताव आफ्नो दस्ताबेजमा लेख्छ कि लेख्दैन ? लेख्न सक्छ कि सक्दैन ?” उनको प्रश्न छ ।

#नेपाली कांग्रेस

#विश्वप्रकाश शर्मा

#राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

#प्रधानमन्त्री वालेन्द्र शाह

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय