मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुम्बासीलाई सरकारको निर्देशन

corporatenepal.com · Tue Jun 23 10:23:41 GMT 2026

काठमाडौं । सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीहरुलाई पाँच दिन भित्र होल्डिङ सेन्टर छोड्न निर्देशन दिएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आज सूचना प्रकाशित गर्दै पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गराउन भनेको हो ।

Advertisement

समितिले पाँच दिनभित्र सरकारले दिने भनेको २५ हजार रुपियाँ लिने अनि होल्डिङ सेन्टर छोड्ने भनेको छ । समितिका सूचना अधिकारी टोपबहादुर बानियाँका अनुसार सरकारले सुकुम्बासीलाई दिने बजेट समेत छुटिएर आइसकेकाले सुरुवातमा होल्डिङ सेन्टरका मानिसहरु प्राथमिकता दिएको जनाएका छन् ।

उनले बर्षायाम सुरु भईसकेकाले गर्दा उनीहरुलाई व्यवस्थित रुपमा बसोबास गर्न भन्दै यही पाँच दिनभित्रमा सरकारले दिने भनेको २५ हजार रुपियाँ लिएर अन्यन्त्र सर्न भनिएको जानकारी दिए ।

‘अहिले वर्षायाम सुरु भईसक्यो । होल्डिङ सेन्टरमा पनि पानी झरीमा उनीहरुलाई अझै समस्या हुन्छ भनेर सार्न पहल गरिएको हो । उनीहरुको सम्पूर्ण विवरणको काम पनि पूरा भईसकेको छ । अब भोलिबाट हाम्रो टोली त्यहाँ जान्छ । त्यहाँँ नाम टिपाएर बैंक खाता दिए पछि तत्कालै पैसा पाउनु हुन्छ । पाँच दिनको समय हामीले रकम वितरण गर्न सहज होस भन्ने उद्देश्यले छ्टयाएका हौं । त्यो समयभित्रै नसक्नेहरुले समय माग गर्न पनि सक्नुहुन्छ । ’ उनी भन्छन् ।

होल्डिङ सेन्टरमा रहेका अशक्त र बाहिर जान नसक्नेहरुका लागि अर्को निर्णय गर्ने बताएका छन् । यो पाँच दिनभित्र जतिजना अन्यन्त्र जान्छन् त्यो बाहेकका लागि फेरी निर्णय गर्ने उनले बताए ।

हालसम्म सबै होल्डिङ सेन्टरमा ३८८ घरपरिवार रहेका छन् । उनीहरूको स्क्रिनिङको काम सकिएको बानियाँले बताए । होल्डिङ सेन्टरमा नबसेका सुकुमवासीहरूको हकमा पनि रंगशालामा स्क्रीनिङको काम जारी रहेको छ ।

सुकुमवासी बस्ती भत्काएपछि सुकुमवासीको रूपमा आफ्नो नाम दर्ता गराउन आउनेको संख्या दुई हजार ६०८ जना रहेको थियो । त्यसमध्ये ३८८ जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी बाहिर आफैँ व्यवस्थापन गरेर बसेका छन् । होल्डिङ सेन्टरमा भएकाहरुको व्यवस्थापन भईसकेपछि बाहिर रहेका वास्तविक सुकुम्बासीहरुले पनि उक्त रकम पाउने उनको भनाइ रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय