मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा प्रवेश गरेपछि गाउँपालिका अध्यक्ष पदमुक्त

bishowkhabar.com · Tue Jun 23 10:52:50 GMT 2026

जुम्ला– जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेपछि पद रिक्त भएको हो ।

निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएकोसम्बन्धी सूचना मङ्गलबार जारी गरेको छ ।

उक्त सूचनाअनुसार कांग्रेसबाट निर्वाचित गुठीचौर गाउँपालिका अध्यक्ष बुढालगायत पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिकाको–३ का अध्यक्ष विष्णु ढकाल पनि पदमुक्त भएको निर्वाचन आयोगको सूचनामा उल्लेख गरिएको छ ।

अन्सारी र ढकाल पनि कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधि हुन ।

आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम पदमुक्त भएको जनाएको छ ।

ऐनमा दल त्याग गरेको व्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

गुठीचौर गाउँपालिकाका अध्यक्ष बुढा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)