विद्यालयको जग्गा हडप्ने भूमि आयोग अध्यक्ष र मालपोत प्रमुखसहित छ जना दोषी ठहर
hamrakura.com · Tue Jun 23 00:00:00 GMT 2026
पोखरा। विशेष अदालतले पोखरास्थित एक विद्यालयको जग्गा हिनामिना गरेको आरोपमा छ जनालाई दोषी ठहर गरेको छ ।
दोषी ठहर हुनेमा कास्की मालपोतका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीसहित भूमि आयोगका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोखरेल, सदस्यहरू आशबहादुर गुरुङ, उमाकुमारी थापा, सोमकुमारी नेपालीका साथै नक्कली सुकुमवासी बनेका भीमबहादुर विक छन्।
विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त राजल र डिल्लीरत्न श्रेष्ठको इजलासले उनीहरूलाई छ/छ महिना कैद र जनही ३० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।
उनीहरू पोखरा महानगरपालिका वडा नं २६ स्थित अमरज्योति मािवको जग्गा नक्कली सुकुमवासी खडा गरेर हिनामिना गरेको अभियोगमा दोषी ठहर भएका हुन्।
फैसलाअनुसार उनीहरूले विद्यालयको तीन रोपनी तीन आना जग्गा किर्ते गरी व्यक्तिलाई हस्तान्तरण गरेका थिए ।
यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष पुसमा मुद्दा दायर गरेको थियो ।
सरकारी र सार्वजनिक जग्गा जोगाउनुपर्ने दायित्व भएका मालपोतका कर्मचारी र भूमि आयोगका पदाधिकारी नै जग्गा हडप्ने प्रपञ्चमा संलग्न भएकाहरूलाई अदालतले सजाय ठहर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग