मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मालपानीको बयानको आधार विष्णु पौडेललाई थुन्न मिल्दैन, चुनावमा गाडी चढेर हिँड्नेलाई के गर्ने ?

clickmandu.com · Tue Jun 23 11:36:59 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा सुर्खेतबाट पक्राउ परेका पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा पेस गरिएको छ।

सोमबार पक्राउ परेका पौडेललाई मंगलबार काठमाडौंस्थित विभागको कार्यालयमा बुझाइएपछि अदालत उपस्थित गराइएको हो ।

उनीमाथि थप अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयले २० दिनको म्याथ थप गर्न इजलास समक्ष माग गरेको छ ।

व्यवसायी दीपक भट्ट लगायतसँग मिलेर सेयर कारोबार र अवैध सम्पत्ति आर्जन गरेको आरोपमा उनीमाथि थप अनुसन्धान आवश्यक रहेको सरकारी वकिलहरूले तर्क गरेका थिए ।

पौडेलका तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूले राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको र उनको आरोप पुष्टी नहुने भएकाले म्याद थप गर्न आवश्यक नभएको तर्क गरे ।

देशमा मुसोलिनी र हिटलरहरु जन्मन थालेको र त्यसलाई सुरुमै अदालतले रोक्न आवश्यक रहेको जिकिर गरे ।

पौडेलमाथि अनुसन्धान गर्ने निकायले अनुसन्धान नगरि अन्य ठाउँमा लेखिएको भन्दै प्रमाण अभावमा कसैलाई पनि थुनामा राखेर अनुसन्धान गर्न नहुने उल्लेख गरेका छन् ।

‘विष्णु प्रसाद पौडेलाई किन पक्राउ गरियो भने उहाँ एमाले उपाध्यक्ष भएको नाताले पक्राउ गरेको हो पूर्वअर्थमन्त्री भएकाले होइन,’ इजलास समक्ष कानुन व्यवसायीले भने ।

यही तरिकाले मुद्दा ल्याउँने हो भने कोही पनि बाँकी नरहने उनीहरूको तर्क छ ।

चुन्न प्रसाद शर्मा र कमल किशोर मालपानीको श्रीराम टोबाकोको २० प्रतिशत सेयर अर्को कम्पनीले किन्दा विष्णु पौडेलले दबाब दिएको बयान दिएकै आधारमा पक्राउ गर्न नमिल्ने कानुन व्यवसायीले दलील गरे ।

साधारण तारिखमा राखिएको व्यक्तिले दिएको बयानका आधारमा प्रमाणका रुपमा लिन नसकिने उनीहरूको तर्क छ ।

प्रश्न उठाउने नै हो भने मालपानी भन्ने व्यक्तिले कसलाई गाडी दिएका थिए चुनावमा ? उनीमाथि गर्नु पर्ने कानुन व्यवसायीको भनाइ छ ।

‘मालपानीको गाडी कसले प्रयोग गर्‍यो उसलाई समाउनु पर्‍यो जसले ८ करोडको मालपानीको गाडी चढ्छ त्यसमाथि अनुसन्धान नहुने ?,’ इजलास समक्ष पौडेलका कानुन व्यवसायीले भने, ‘मालपानीले मेरो कम्पनीको सेयर फलानोले कम रकममा किन्यो भनेकै आधारमा विष्णु पौडेललाई पक्रन मिल्छ ?’

कसुरै नलाग्ने केस भएकाले म्याद थप गर्न आवश्यक नभएको उनीहरूको दलील छ ।

एउटा पार्टीका उपाध्यक्ष भाग्ने विषय हास्यास्पद भएको उनीहरूको तर्क छ ।

‘को भाग्छ ? दीपक भट्टको मुद्दा चलेको ९० दिन भयो यदी भाग्नु पर्ने थियो भने कुरेर बस्नुहुन्थ्यो होला वा दीपक भट्टलाई जोगाउनका लागि प्रमाण तलमाथि पारेको छ?’ इजलास समक्ष पौडेलका कानुन व्यवसायीले भने, ‘उहाँ भागेर जाने अवस्था छ ? रातारात पक्राउ गरेर ल्याउनु पर्ने तमासा किन ? यो स्टन्टबाजी हो ।’

यो मुद्दामा कसुर स्थापित हुने प्रमाण छैन त्यसैले थुनामा राखेर अनुसन्धान गर्नुपर्छ भनेर अदालतले आदेश गर्छ भन्नेमा विश्वास नरहेको उनीहरूको तर्क छ ।

अनुसन्धान गर्दाको बखत उपस्थित हुने गरि अदालतले आदेश गर्नु पर्ने उनीहरूको तर्क छ ।

अधिवक्ता धर्मराज रेग्मीले पक्राउ पुर्जी जारी नै गलत रुपमा भएकोले पौडेललाई थुनामा राख्न नमिल्ने तर्क गरे । इजलासले चाहेको बेलामा उपस्थित गराउने गरि परिवार वा कानुन व्यवसायीको रोहमा पौडेलाई छाड्नु पर्ने उनको तर्क छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय