मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु

ratopati.com · Tue Jun 23 12:12:44 GMT 2026

विराटनगर । सुनसरीमा मङ्गलबार भएको सवारी दुर्घटनाबाट नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) को मृत्यु भएको छ ।

सुनसरीको बर्जु गाउँपालिका –६ स्थित हुलाकी राजमार्गको नरह चोकनजिक मंगलबार दिउँसो भएको दुर्घटनामा वरिष्ठ सई लालकुमार यादवको मृत्यु भएको हो ।

विराटनगरबाट बर्जुको चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भएका ५० वर्षीय वरिष्ठ सई यादव गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम भर्ना गरिएको थियो । सुनसरी प्रहरीका प्रमुख एसपी केशवकुमार थेवेका अनुसार उनको उपचारकै क्रममा मृत्यु भएको हो । मृतक यादव जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत थिए ।

दुर्घटनामा यादवकी ४७ वर्षीया पत्नी रामपरी यादव घाइते भएकी छन् । उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य छ । हाल उनको विराट नर्सिङ होममै उपचार भइरहेको छ ।

प्रहरीले कार चालक मोरङको कटहरी गाउँपालिका–३ घर भएका ५० वर्षीय रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीलाई नियन्त्रणमा लिएको छ । डा. चौधरी चिमडी बजारमा एक्स–रे गर्नका लागि जाँदै थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)