युरोपमा भीषण गर्मीको सङ्कट गहिरिँदै
gorkhapatraonline.com · Tue Jun 23 12:13:41 GMT 2026

युरोपभर फैलिएको असाधारण गर्मी लहरका कारण जनजीवन, ऊर्जा प्रणाली र स्वास्थ्य क्षेत्रमा गम्भीर असर देखिन थालेको छ । वैज्ञानिकहरूले यो अवस्थालाई जलवायु परिवर्तनको स्पष्ट सङ्केत भन्दै यस्ता गर्मीका छाल अझ बारम्बार, लामो र तीव्र हुने चेतावनी दिएका छन् ।
फ्रान्समा गर्मीका कारण डुबेर मृत्यु हुने घटनामा वृद्धि भएको छ । खेलकुद तथा युवा मन्त्रीका अनुसार सप्ताहन्तयता करिब २० जनाको डुबेर मृत्यु भएको छ र नागरिकलाई पानीका निकायमा सावधानी अपनाउन आग्रह गरिएको छ । यस अघि सुरक्षा निकायले कम्तीमा १३ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।
अत्यधिक तापक्रमका कारण फ्रान्स सरकारले सङ्कट व्यवस्थापन बैठकसमेत आयोजना गरेको छ । देशका एक हजार ३५० भन्दा बढी विद्यालय बन्द भएका छन् भने औसत तापक्रमले जुन महिनाकै रेकर्ड तोड्दै २९.२ डिग्री सेल्सियस पुगेको छ । गर्मीको प्रभाव तीव्र बनेपछि ५४ विभागमा रेड अलर्ट जारी गरिएको छ र यसले करोडौँ नागरिकलाई प्रभावित गरेको छ ।
ऊर्जा क्षेत्रमा पनि असर देखिएको छ । दक्षिणपश्चिमी फ्रान्सको एउटा आणविक रिएक्टर नदीको पानी अत्यधिक तातो भएपछि बन्द गरिएको छ । चिसो पार्न प्रयोग हुने पानीको तापक्रम २८ डिग्री सेल्सियसको सुरक्षित सीमा नाघेपछि यो निर्णय गरिएको हो । बेल्जियममा मौसम विभागले आगामी दिनमा अहिलेसम्मकै उच्च तापक्रम पुग्ने चेतावनी दिएको छ ।
केही विद्यालयले कक्षा छोट्याएका छन् भने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ । जर्मनीमा गर्मीका कारण पौडी दुर्घटनामा वृद्धि हुँदा सप्ताहन्तमा पाँच जनाको मृत्यु भएको छ । साथै, फ्रान्कफर्ट विमानस्थलमा लामो समय विमानमा रोकिएका यात्रुलाई स्वास्थ्य समस्या देखिएपछि उपचार गरिएको छ । दक्षिणपूर्वी फ्रान्समा दुई र चार वर्षका दुई बालबालिका कारभित्र मृत भेटिएको घटनाले थप चिन्ता बढाएको छ ।
अधिकारीहरूले अत्यधिक गर्मीलाई सम्भावित कारणका रूपमा अनुसन्धान गरिरहेका छन् । यात्रा तथा यातायात क्षेत्रमा पनि असर देखिएको छ । पेरिस क्षेत्रका अधिकारीहरूले अत्यधिक गर्मीका बेला अनावश्यक यात्रा स्थगित गर्न र घरबाट काम गर्न सकिनेलाई त्यसै गर्न आग्रह गरेका छन् । रेल प्रणाली ५० डिग्रीसम्मको तापक्रम सहन नसक्ने चेतावनीसमेत दिइएको छ ।
बेलायतमा पनि उच्च स्तरको गर्मी चेतावनी जारी गरिएको छ र त्यहाँ केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । मौसम विभागले जुन महिनाकै रेकर्ड तोडिन सक्ने चेतावनी दिएको छ । रासस/ एएफपी
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
मौसम