मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विष्णु पौडेल अदालतमा उपस्थित, २० दिन हिरासतमा राख्न माग

barnanmedia.com · Tue Jun 23 12:06:56 GMT 2026

काठमाडौँ / सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ।

विभागले पौडेललाई २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेको छ। पाँच पटकसम्म अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेका पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो।

उनी वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलमा एमालेको कार्यक्रमका क्रममा सहभागी भइरहेका बेला नियन्त्रणमा लिइएका थिए। पक्राउपछि उनलाई सुरुमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको थियो। त्यसपछि स्कार्पियो गाडीमार्फत बाँकेको कोहलपुर पुर्‍याइएको थियो।

कोहलपुरबाट भने गाडी परिवर्तन गरी नेपालगञ्ज–घोराही रुटमा चल्ने बा ५ ख ४०३१ नम्बरको हाइसमा राखेर रातारात काठमाडौँ ल्याइएको थियो । मंगलबार दिउँसो करिब १ बजे उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउअघि ललितपुरस्थित पौडेलको निवासमा समेत छापा मारेको थियो। विभागले सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टसँग पौडेलको शंकास्पद आर्थिक कारोबार देखिएको भन्दै अनुसन्धान अघि बढाएको जनाएको छ।

दीपक भट्टमाथि भइरहेको अनुसन्धानका क्रममा प्राप्त विवरणका आधारमा पौडेलविरुद्ध थप अनुसन्धान आवश्यक देखिएकाले उनलाई पक्राउ गरिएको विभागले जानकारी दिएको छ । विशेष अदालतले विभागको मागमाथि सुनुवाइ गरी हिरासत अनुमति दिने वा नदिने विषयमा निर्णय गर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)