बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?
nepalpress.com · Tue Jun 23 12:18:19 GMT 2026

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई रुपन्देहीका व्यवसायी कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्माको बयानका आधारमा सम्पत्ति शुद्धीकरण लगाएर पक्राउ गरिएको खुलेको छ ।
म्याद थपका लागि विशेष अदालतमा सरकारी पक्षबाट पेश गरिएको दाबीमा यो उल्लेख भएपछि पौडेल पक्षका कानून व्यवसायीले प्रतिवाद गरेका छन् ।
बयान दिनेमध्ये चुन्नु गत निर्वाचनमा विष्णु पौडेलसँगै रुपन्देही क्षेत्र नम्बर २ मा कांग्रेसबाट उम्मेदवार भई प्रतिस्पर्धामा थिए भने मालपानीको ८ करोडको गाडी प्रधानमन्त्री बालेन्द्र शाहले चुनावी प्रचारका सिलसिलामा प्रयोग गरेका थिए ।
उनीहरुले श्रीराम टोबाकोको शेयर सस्तो मुल्यमा दिपक भट्टलाई विक्री गर्न बिष्णु पौडेलले सहजीकरण गरेको बयान दिएका बताइएको छ । वरिष्ठ अधिवक्ता केदार कोइराला, रमेश बडाल, शान्तिराम खतिवडालगायतले इजलासमा बहस गर्दै बयान दिने व्यक्तिहरूलाई पक्राउ नगरी उनीहरुले नाम लिएकै आधारमा पौडेललाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गर्नुले सरकारले राजनीतिक प्रतिशोध देखाएको जिकिर गरेका थिए ।
उनीहरूले मालपानीको गाडी चढ्ने व्यक्तिमाथि अनुसन्धान गर्न समेत माग गरे ।
मालपानी र चुन्नु शर्मा पौडेल व्यवसायिक साझेदार हुन् । उनीहरु खैनी, गुट्खालगायत उत्पादन गर्ने उद्यमी तथा करेन्ट चाउचाउका मालिक समेत हुन् । उनीहरूलाई सरकारी साक्षी बनाएर विष्णु पौडेलमाथि मुद्दा चलाउन सरकारले प्रयास गरेको पाइएको छ ।
पौडेल पक्षका वकिलहरूले विष्णु पौडेलले शेयर बिक्रीमा सहजीकरण गरेको आधार प्रमाण खुलाउन सरकारले नसकेको भन्दै पौडेललाई फसाउने राजनीतिक नियतमात्र देखिएको जिकिर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
बालेन शाह
दिलभूषण पाठक
काठमाडौँ