मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णु पौडेललाई बिनासर्त रिहा गर्न एमालेको माग

baahrakhari.com · Tue Jun 23 12:21:50 GMT 2026

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठकले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई बिनासर्त रिहा गर्न माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

पौडेललाई गैरकानुनी, गैरन्ययिक, प्रतिशोधपूर्ण र अपमानपूर्ण ढंगबाट पक्राउ गरिएको एमालेको निष्कर्ष छ । पौडेललाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको थियो ।

पौडेललाई पक्राउ गरी सार्वजनिक सवारीको माध्यमबाट रातारात काठमाडौं ल्याउने काम गरिएको भन्दै एमालेले सरकार विधिको शासनको बर्खिलापमा रहेको निष्कर्ष निकालेको छ ।

बैठकले सात बुँदे प्रस्ताव पारित गरेको छ । बैठकमा एमालेलाई जिम्मेवार प्रतिपक्षीका रूपमा लैजाने विषयमा छलफल भएको प्रमुख सचेतक ऐन महरले बताए ।

त्यस्तै बैठकले झापाका ८३ वटा भन्दा बढी चिया उद्योग बन्द भएसँगै राष्ट्रिय उत्पादनमा र निर्यातमा ठूलो धक्का पुगेको भन्दै सरकारलाई कूटनीतिक माध्यमबाट अविलम्ब पहलका लागि ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

राज्य आतंकको बर्बरता अविलम्ब अन्त्य गर्न, जनताका आधारभूत मूल्यमान्यताका बारेमा सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ ।

#नेकपा एमाले

#विष्णु पाैडेल

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)