विष्णु पौडेलको म्याद थप बहसले चर्चामा विशेष अदालतको ‘लाइभ’ अभ्यास
techpana.com · Tue Jun 23 12:23:43 GMT 2026

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई म्याद थपका लागि आज विशेष अदालतमा उपस्थित गराइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार सुर्खेतबाट पक्राउ गरेका पौडेलको म्याद थप सम्बन्धी बहसको विशेष अदालतले प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने व्यवस्था मिलाएको छ ।
अदालतको इजलासमा भइरहेको बहसलाई सर्वसाधारण र सञ्चारकर्मीले प्रत्यक्ष हेर्न सक्ने गरी व्यवस्था गरिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।
उनले टेकपानासँग भनिन्, "हाम्रो विशेष अदालतको इजलास भन्दा बाहिर ग्राउन्ड फ्लोरमा सेवाग्राहीका लागि एउटा छुट्टै 'लाइभ रुम' को व्यवस्था छ । त्यहाँ राखिएको टिभीमा इजलासको गतिविधि प्रत्यक्ष देखिन्छ । सोही टिभीबाट मिडियाहरूले खिचेर लाइभ गरिरहनुभएको छ, जसका लागि इजलासबाट अनुमति दिइएको छ ।"
सूचना अधिकारी हितानका अनुसार यो अभ्यास केही समयअघिदेखि नै सुरु गरिए पनि उच्च पदस्थ व्यक्तिको बहसका कारण आज यसले विशेष चर्चा पाएको हो । मंगलबार मूलधकारका विभिन्न मिडियाले आफ्ना डिजिटल प्लेटफर्म विशेष अदालतकाे बहस सर्वसाधारणलाई देखाएका थिए । जसमा हजाराैँले प्रत्यक्ष बहस सुनेका थिए ।
इजलासमा सरकारी वकिल र पौडेलका निजी कानुन व्यवसायीहरूबिच निकै बहस भएको थियो । बहस सकिएलगत्तै विशेष अदालतले पौडेललाई कति दिन थुनामा राख्ने वा तारेखमा छाड्ने भन्नेबारे आदेश दिनेछ ।
पछिल्लो अध्यावधिक: असार ९, २०८३ १८:८
टिप्पणीहरू
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)
काठमाडौँ