मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैंकिङ कसुर मुद्दामा ८ करोड ५० लाख जरिवाना तोकिएकी सविता कार्की १३ वर्षपछि पक्राउ

shilapatra.com · Tue Jun 23 12:32:00 GMT 2026

बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भएकी चारित्रिक विल्डर्स प्रालिकी सञ्चालक सविता कार्कीलाई १३ वर्षपछि नेपाल प्रहरीले पक्राउ गरेको छ ।

उनलाई नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले आज मंगलबार काठमाडौंको गोकर्णेश्वर– ४ बाट पक्राउ गरेको हो ।

प्रहरीले पक्राउपश्चात् अभियुक्त कार्कीलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको बताएको छ ।

कार्कीविरुद्ध बैंकिङ कसुर मुद्दामा साविक पुनरावेदन अदालत पाटनको २९ वैशाख २०७१ को फैसलाले ३ वर्ष कैद र ८ करोड ५० लाख रुपैयाँ जरिवाना तोकेको छ ।

कार्कीविरुद्ध नेपाल राष्ट्र बैंकले जाहेरी दिएको थियो । जाहेरीमा कार्कीले आफू सञ्चालक रहेको चारित्रिक विल्डर्स प्रालिको नाममा कम्पनी दर्ता गरी बनावटी कागजातहरू तयार गरी हाउजिङ तथा निर्माण कार्य गर्ने भनी कृत्रिम व्यवसाय/परियोजना खडा गरी क्यापिटल मर्चेन्ट बैंकिङ तथा फाइनान्स लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी/पार्न लगाई कर्जा निकासा गराउन सफल भएको उल्लेख छ ।

उनले लिएको कर्जा रकम उक्त परियोजनामा लगानी नगरी दुरुपयोग गरेको भन्दै साविक पुनरावेदन अदालत पाटनले दोषी ठहर गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३

१८:१७

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय