एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
ratopati.com · Tue Jun 23 12:40:45 GMT 2026

काठमाडौँ । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरेको निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय च्यासलमा मङ्गलबार बसेको एमाले संसदीय दलको बैठकले पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पूर्वाग्रह ढङ्गले पक्राउ गरेको भन्दै भर्त्सना गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।
पौडेललाई पक्राउ गर्नु कानुनी राज्य र विधिको शासनको बर्खिलापमा रहेकाले अविलम्ब बिनाशर्त रिहाइ गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको महरले बताए ।
फरक राजनीतिक विचार राख्ने पार्टीका नेता कार्यकर्ताहरूलाई शृङ्खलाबद्ध र योजनाबद्ध तरिकाले सरकारले प्रतिशोध साँधेको उनले बताए ।
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
सरकारको यस्तै रवैया जारी रहे त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार स्वयं सरकार नै हुने उनले चेतावनी दिए। बैठकले सशक्त, रचनात्मक र एकदम जिम्मेवार प्रतिपक्षीको रूपमा सदनमा भूमिका खेल्ने र त्यसका लागि पार्टीसँग सहकार्य र समन्वय गर्ने प्रस्ताव पारित गरेको छ भने सरकार तानासाही र स्वेच्छाचारी बाटोमा हिँडिराखेकाले यसका विरुद्ध सदनबाट सङ्घर्ष गर्ने निर्णय समेत गरेको प्रमुख सचेतक महरले जानकारी दिए ।
बैठकले चिया निर्यातको समस्या समाधान गर्न, पेट्रोलियम पदार्थहरूको मूल्यवृद्धिका कारण उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ भने प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि राज्यका निकायहरूलाई तयारी अवस्थामा रहन र सहज रूपमा मलको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको प्रमुख सचेतक महरले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)