गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएपछि...
nepalviews.com · Tue Jun 23 12:58:21 GMT 2026

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगेका गृहमन्त्री सुधन गुरुङले अम्लेट खाने क्रममा माछाको काँडा भेटिएको घटनापछि सम्बन्धित होटलमा खाद्य गुणस्तरको अनुगमन गरिएको छ ।
विमानस्थल नजिक रहेको लड्स प्लाजा होटलमा गृहमन्त्री गुरुङले अम्लेट खाँदा माछाको काँडा भेटिएको भन्दै प्रारम्भिक रूपमा होटलका दुई कर्मचारीलाई प्रहरीले सोधपुछ गरेको समाचार सार्वजनिक भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलले स्थानीय प्रशासनको अनुगमनका क्रममा सामान्य त्रुटि देखिएपछि कर्मचारीसँग सोधपुछ गरिएको र पछि उनीहरूलाई छाडिएको बताएका छन् ।
उनका अनुसार प्रमुख जिल्ला अधिकारीसहितको टोलीले मंगलबार सौराहा र भरतपुर क्षेत्रका विभिन्न होटलमा खाद्य गुणस्तर तथा सरसफाइको अनुगमन गरेको थियो । रास्वपाको महाधिवेशनका कारण ठूलो सङ्ख्यामा प्रतिनिधि तथा आगन्तुक चितवन पुगेकाले खाद्यान्नमा मिसावट वा लापरबाही हुन नदिन अनुगमनलाई तीव्र बनाइएको उनले बताएका थिए ।
यता, गृहमन्त्रीको सचिवालयले पनि अम्लेट खाने क्रममा माछाको काँडा भेटिएको विषयलाई लिएर होटलमा खाद्य विभागले सामान्य अनुगमन र सञ्चालक पक्षसँग सोधपुछ मात्र गरेको जनाएको छ ।
सचिवालयका अनुसार कुनै पनि होटल कर्मचारीलाई पक्राउ नगरिएको स्पष्ट पार्दै त्यससम्बन्धी समाचारहरू भ्रामक रहेको उल्लेख गरिएको छ ।
घटनापछि चितवनका होटलहरूमा खाद्य सुरक्षा र गुणस्तरसम्बन्धी अनुगमनलाई थप प्रभावकारी बनाइएको प्रशासनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)