मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बर्ड फ्लुको प्रकोप बढ्दो: ११ जिल्लाका ८२ स्थानमा पुष्टि, साढे ५ लाखभन्दा बढी पन्छी नष्ट

swasthyakhabar.com · Tue Jun 23 13:03:23 GMT 2026

ललितपुर- विगत तीन महिनादेखि देशका विभिन्न स्थानमा देखा परेको 'बर्ड फ्लु' (एच५एन१) रोगको प्रकोप पछिल्लो समय काठमाडौं उपत्यकामा तीव्र रूपमा बढ्न थालेको छ।

पशु सेवा विभागले आज एक प्रेस विज्ञप्ति जारी गर्दै देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु पुष्टि भइसकेको र नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको जनाएको छ।

विभागका अनुसार गत चैत ४ गते मोरङ जिल्लामा पहिलो पटक बर्ड फ्लु प्रमाणित भएयता हालसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लामा यो संक्रामक रोग फैलिसकेको छ।

साढे ५ लाख पन्छी र झण्डै १० लाख अण्डा नष्ट

बर्ड फ्लु महामारी नियन्त्रण तथा निवारणका लागि विभागले प्रभावित क्षेत्रहरूमा आकस्मिक रोग अन्वेषण टोली र द्रुत कार्यदल परिचालन गरी ठूलो परिमाणमा पन्छी तथा पन्छीजन्य सामग्री नष्ट गरेको छ। हालसम्म रोग प्रभावित क्षेत्रका ५ लाख ६९ हजार ८ सय ५८ वटा पन्छी, ९ लाख ८९ हजार ३ सय १३ वटा अण्डा, १ लाख ९५ हजार ४ सय ८५ केजी दाना नष्ट गरी सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।

कोशीमा नियन्त्रण, उपत्यकामा जोखिम थपियो

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार गृह मन्त्रालयसँगको समन्वयमा कोशी प्रदेशमा एक महिनासम्म पन्छी ओसारपसारमा लगाइएको रोकका कारण त्यहाँको संक्रमण हाल पूर्ण नियन्त्रणमा आइसकेको छ। झापा, मोरङ, सुनसरी, बारा, महोत्तरी, चितवन र नवलपरासीमा रोग नियन्त्रणमा आइसकेको भए तापनि काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर) र काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा भने यो प्रकोप अझै बढ्दो क्रममा रहेको छ।

देखा परेको बर्ड फ्लु भाइरसको 'सिक्वेन्सिङ' गरी यसको गुण वा स्वरूपमा कुनै परिवर्तन (म्युटेसन) भए/नभएको यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा आवश्यक कार्य अघि बढाइएको विभागले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)

सम्बन्धित विषय