मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस सभापति थापाद्वारा पार्टी इतर पक्षका माग ठाडै इन्कार

baahrakhari.com · Tue Jun 23 13:25:30 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले अघि सारेको मुख्य माग सभापति गगनकुमार थापाले ठाडै इन्कार गरेका छन् ।

जिल्ला भेलामा सहभागी हुन मंगलबार (असार ९ गते) झापा पुगेका कांग्रेसका सभापति थापा भन्दै थिए, “तपाईंहरूमध्ये कसैले सदस्यता अद्यावधिक गर्नुभएको छैन भने मलाई क्षमा गर्नुहोला । अद्यावधिक नभएको कोही पनि सदस्यलाई कांग्रेसले सम्मान गर्छ, माया गर्छ, तर पार्टी सदस्यका रूपमा चिन्दैन । सिस्टमले चिन्दैन । मैले चिन्छु, व्यक्तिगत रूपमा मैले राम्रोसँग चिन्छु जयनेपाल गर्छु । तर, सिस्टमले चिन्दैन ।”

अब वडाको अधिवेशन सुरु हुने उनले जानकारी दिए । “वडाको अधिवेशन सुरु भयो भने क्षमा गर्नुहोला अद्यावधिक नभएको साथीहरूको तल निर्वाचनको प्रतिनिधिले कपी बोकेर आउँदै गर्दा नभएका साथीहरूको बोकेर आउनुहुन्न । सिस्टममा आउँदैन, चिनिन्न ।”

विगत ८–१० वर्षमा पार्टीलाई छिया–छिया बनाएको आरोप लगाउँदै उनले सुधार्ने संकल्पसहित यात्रालाई ठेस पुर्‍याउने गरी आएका प्रस्ताव नमानी अगाडि बढ्ने बताए ।

“मलाई चाँडो अधिवेशन गर भन्नुभयो भने गर्छौं, निष्पक्ष गर भन्नुभयो भने गर्छौं,” उनले भने, “तर, यो कमिटीभित्र फेरि अर्को कमिटी मिलाउनुपर्छ भन्नुहुन्छ भने त्यो माग नै मिलेन । हामी यो कमिटीमा १४औँ महाधिवेशनमा निर्वाचित भएकालाई मिसाउनुपर्छ भनेदेखि त्यो विधानले पनि मिल्दैन राजनीतिले पनि मिल्दैन ।”

उनले इतर पक्षका नेताहरूलाई मिल्दै नमिल्ने मागलाई छाडिदिन आग्रहसमेत गरे ।

पुराना नेताहरूको पुस्ताले सबै कुरा पाएको बताउँदै उनले प्रश्न गरे, ‘‘अब पनि सबैभन्दा बढी गुनासो तपाईंहरूकै हुनुपर्ने ?’’

आन्तरिक विवाद झन् अन्योल

कांग्रेसको आन्तरिक विवाद यतिबेला सुल्झिनेभन्दा पनि अन्योलतिर धकेलिएको छ । संस्थापन र इतर पक्षबीच संवादहीनताको अवस्थाले थप अन्यौल सिर्जना भएको इतर पक्षका नेता मीन विश्वकर्माले बताए ।

“हाम्रो उद्देश्य मेलमिलाप गर्ने छ । सानेपा कांग्रेसको के छ थाहा छैन,” उनले बाह्रखरीसित भने, “भेटघाट पनि भएको छैन ।”

सुन्धाराको चिठ्ठी सिंहदरबार पुर्‍याउन २२ दिन लागेको ‘उक्ति’ लागु भएको उनको भनाइ छ ।

“गगन थापा र विश्वप्रकाश शर्माले पूर्णबहादुर खड्का र शेखर कोइरालालाई वाट्सएपमा चिठ्ठी पठाउन थालेपछि पार्टी मिल्ने लक्षण हो त यो ?,” उनले थपे, “उहाँहरू वाट्सएपमा पठाउने, पत्रिकामा छाप्न लगाउने अनि पूर्णबहादुर खड्काले बेवास्ता गरे भनेर पाँचजनालाई मात्र पठाएँ भन्ने ?”

उनी केही पुराना नेतालाई संस्थापन पक्षले पार्टीमै ल्याउन नचाहेको बताउँछन् । उनले बाह्रखरीसित भने, “उहाँहरू मसँग सबै मान्छे त कहाँ लिन सकिन्छ ? केहीलाई त लिन सकिदैँन नि भन्नुहुन्छ ।"

#नेपाली कांग्रेस

#गगन थापा

#संस्थापन इतर

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय