मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उच्च अदालत जनकपुरले सुरु गर्‍यो युट्युबबाट इजलासको प्रत्यक्ष प्रसारण

techpana.com · Tue Jun 23 14:25:39 GMT 2026

काठमाडौं । उच्च अदालत जनकपुरले इजलासका काम कारबाहीको प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) सुरु गरेको छ । न्याय सम्पादन प्रक्रियालाई थप पारदर्शी र प्रविधिमैत्री बनाउन भन्दै अदालतले सोमबारदेखि आफ्ना सुनुवाइलाई युट्युबमार्फत प्रत्यक्ष प्रसारण गर्न थालेको हो ।

कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरको पहलमा यो सेवाको सुरुवात भएको उच्च अदालतका प्रवक्ता एवम् उप-रजिष्ट्रार शम्भु भुजेलले बताए । यो सेवाअन्तर्गत सोमबार तीनवटा इजलासको लाइभ गरिएको थियो भने मंगलबारदेखि एकै पटक पाँचवटा इजलाससम्मको सुनुवाइ प्रत्यक्ष प्रसारण गरिएको छ ।

अदालतले ‘High Court Janakpur’ नामको युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण थालेको हो । उक्त च्यानल ९ जुनमा खोलिएको देखिएको छ ।

प्रत्यक्ष प्रसारणका लागि अदालतले छुट्टै जनशक्ति भर्ना नगरी अदालतको सूचना प्रविधि (आईटी) कर्मचारी परिचालन गरेको प्रवक्ता भुजेलले बताए । “हाम्रा आईटी कर्मचारीहरूले नै यसको व्यवस्थापन गरि रहनुभएको छ । प्रत्येक इजलास कक्षभित्रै एक जना प्राविधिक कर्मचारी खटिने व्यवस्था मिलाइएको छ,” उनले भने ।

आम सर्वसाधारणले अदालतमा कसरी सुनुवाइ हुन्छ र न्याय सम्पादन कसरी गरिन्छ भन्ने कुरा घरमै बसेर हेर्न सकून् भनेर यो सुविधा सुरु गरिएको भुजेलले बताए ।

उनले भने, “इजलास कक्षहरू साना हुने र धेरै मानिस अट्न नसक्ने भएकाले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै अनलाइन लाइभ स्ट्रिमङ सुरु गरिएको हो ।” यसले अदालतमा प्रत्यक्ष उपस्थित नभएर पनि अदालतमा सुनुवाइका क्रममा भएका गतिविधि हेर्न सकिने सुविधा सरोकारवालालाई प्रदान गर्ने उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असार ९, २०८३ २०:१०

टिप्पणीहरू

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)

सम्बन्धित विषय