मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा महाधिवेशन स्थलमा चुनावी माहौल: पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारी घोषणा

nagariknews.nagariknetwork.com · Tue Jun 23 14:50:24 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तेस्रो दिन आज महाधिवेशनको बन्दसत्र औपचारिक रूपमा अघि बढेसँगै नेताहरूले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

महाधिवेशन स्थलमा नेताहरूले आफ्ना राजनीतिक धारणा, पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र भावी नेतृत्वबारे आ–आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै प्रतिस्पर्धामा उत्रिएका हुन् ।

सांसद रमेश प्रसाईंले केन्द्रीय सदस्य र पदाधिकारी दुवै चरणमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले पार्टीभित्र योग्यताको आधारमा मूल्याङ्कन हुनुपर्नेमा जोड दिँदै राम्रो काम गर्ने नेताहरूलाई पुरस्कृत र कमजोर कार्यसम्पादन गर्नेहरूलाई दण्डित गर्ने परम्परा स्थापित हुनुपर्ने बताए । प्रसाईंले आफू सहमहामन्त्री पदमा आकांक्षी रहेको स्पष्ट पार्दै अन्तिम निर्णय पार्टीका सार्वभौम सदस्यहरूले गर्ने उल्लेख गरे ।

उनका अनुसार राजनीति केवल पद प्राप्तिको विषय नभई जिम्मेवारी पूरा गर्ने माध्यम हो ।

‘नेताले राम्रो गरेको छ भने पुरस्कृत गर्ने वेला यही हो, नेताले आफ्नो जिम्मेवारीलाई न्याय गर्न सकेको छैन भने दण्डित गर्ने वेला पनि यही हो,’ उनले भने ।

उनले पार्टीमा पारदर्शिता, निष्पक्षता र सदस्यहरूको निर्णायक भूमिकामाथि विश्वास व्यक्त गरे ।

त्यस्तै, सांसद सागर ढकालले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले पार्टीभित्र डिजिटल प्रणाली, इ–भोटिङ र निर्वाचन प्रक्रियामा प्राविधिक सुधार आवश्यक रहेको बताए ।

ढकालले हालको बन्दसत्रमा देखिएको प्राविधिक समस्या स्वाभाविक भएको उल्लेख गर्दै नयाँ अभ्यास गर्दा आउने चुनौतीका रूपमा यसलाई लिनुपर्ने धारणा राखे । उनका अनुसार पार्टीले विदेशमा रहेका सदस्यहरूको मतदानलाई समेत समेट्ने प्रयास गरिरहेको छ ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)