गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना
nepalviews.com · Tue Jun 23 15:11:23 GMT 2026

चितवन । गृहमन्त्री सुधन गुरुङले अम्लेट खाने क्रममा माछाको काँडा भेटिएको भरतपुरस्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटल प्रालिलाई जिल्ला प्रशासन कार्यालय चितवनले ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार भरतपुर महानगरपालिका–१० स्थित उक्त होटलको खानाको गुणस्तरबारे उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीसहितको निरीक्षण टोलीले अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी खाना उपलब्ध गराएको पाइएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार उक्त कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा (२) को खण्ड (क) तथा दफा ३८ को खण्ड (ङ) विपरीत रहेको ठहर गरिएको छ ।
गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएपछि...
सहायक प्रमुख जिल्ला अधिकारी (निरीक्षण अधिकृत) को निर्णयअनुसार होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम ३ लाख रुपैयाँ जरिवाना गरिएको छ । साथै, बरामद गरिएका खाद्य सामग्री नष्ट गर्ने निर्णयसमेत गरिएको प्रशासनले जनाएको छ ।
गत आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका गृहमन्त्री सुधन गुरुङले होटलमा अम्लेट खाने क्रममा माछाको काँडा भेटिएको घटना सार्वजनिक भएपछि उक्त होटलको खानाको गुणस्तरमाथि प्रश्न उठेको थियो । त्यसपछि प्रशासनले होटलमा अनुगमन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)