मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हालान्डप्रेरित नर्वेको विश्वकपमा सनसनी, ठूला टिमको बन्दै छ  हैरानी !

shilapatra.com · Tue Jun 23 15:24:10 GMT 2026

नर्वे विश्वविजेता टोली होइन, तर उसले मैदानमा देखाएको सनसनी विश्वविजेताभन्दा कम छैन । सामान्यतः एकनासको मौसम नहुने उत्तरी युरोपियन देशले यतिखेर उत्तर अमेरिकामा जारी फिफा विश्वकपमा तहल्का मच्चाइरहेको छ । अर्थात् एकनासको उम्दा प्रदर्शन नर्वेको पहिचान बनेको छ ।

विश्व फुटबलको महामेलामा विश्वकप जितिसकेका टोली दाबेदार हुन्छन् । तर, चारपटक विश्वकप जितेको इटालीलाई पाखा लगाएर अमेरिकाको टिकट काटेको नर्वे पृथक् छ । ऊ च्याम्पियन होइन तर खेल हेर्दा च्याम्पियनकै शैलीको छ, जसको केन्द्रमा छन् युरोपको व्यावसायिक फुटबलमा धमाल मच्चाइरहेका २५ वर्षे आर्लिङ हालान्ड ।

हालान्ड ६ फिट पाँच इन्च अग्ला र ९५ किलो तौल भएका फरवार्ड हुन् । उनको लय साँच्चै लोभलाग्दो छ । खेल उचाइजत्तिकै अग्लो र तौलजत्तिकै गह्रौँ छ, जसको खेलले जोसुकैलाई मोहित बनाउँछ । उनकै प्रेरणामा २८ वर्षपछि विश्वकपमा आएको नर्वेले यसपटक विश्वकपको मञ्चमा धमाल मच्चाइरहेको छ । र, यसको केन्द्रमा छन् डेब्युट्यान्ट हालान्ड, जसले सुरुका दुवै खेलमा सानदार प्रदर्शन गरेर टिमलाई एक खेलअगावै नकआउट चरणमा पुर्‍याइसकेका छन् ।

नर्वे रहेको समूह ‘आई’मा दुईपटकको विश्वविजेता फ्रान्स छ । तर, सेनेगल र इराकविरुद्ध जादुयी खेल देखाएका हालान्ड जोसुकै खेलाडीलाई तर्साउन सक्ने खेलाडी हुन् । उनीप्रेरित नर्वेले पहिलो खेलमा इराकलाई ४–१ गोलले पाखा लगायो ।

मंगलबार बिहान भएको दोस्रो खेलमा हालान्डले नै दुई गोल गरे, जसमा नर्वेले सेनेगललाई ३–२ गोलले पराजित गर्‍यो । लगातार दोस्रोपटक पनि जितेर नकआउटमा प्रवेश गरेपछि हालान्डले मनैदेखि दिएको प्रतिक्रियाले उनमा अझै माथिसम्म पुग्ने र जित्ने भोक देखाउँछ ।

‘विश्वकप फुटबल साँच्चैको गज्जबको हुँदोरहेछ । म मैदानमा त्यो महसुस गरिरहेको छु । नर्वे टिममा डेब्यु गरेदेखि मैले सधैँ रमाइलो गरिरहेको छु । तपाईंहरूले पनि देख्दै आउनुभएको छ,’ हालान्डले दुई खेलमा चार गोल गर्दै टिमलाई नकआउट चरणमा लगेपछिको खुसी मिडियासमक्ष साट्दै भने, ‘आजको रात विशेष र अद्भूत रह्यो, जसले मलाई गर्व गराइरहेको छ । यो विशेष र आनन्ददायी क्षण हो ।’

तुलनात्मक रूपमा फ्रान्सको भन्दा बढी गोल नर्वेले खाएको छ, जसले अंक तालिकामा फ्रान्सभन्दा पछाडि पारेको छ । तर, अर्को टिमले दुई गोल गर्दा तीन/चार गोल गर्ने खुबी हालान्डले पनि देखाइरहेका छन्, जसको प्रभाव उनको गोलसंख्या दुई खेलबाट ४ पुगेबाट पुष्टि हुन्छ । २६ जूनमा फ्रान्ससँगको नर्वेको खेलमा कडा प्रतिस्पर्धा हुन सक्ने आकलन छ । सम्भवतः जारी विश्वकमै सो खेल समूहको सबैभन्दा चर्चित बन्न सक्नेछ ।

दुवै नकआउट चरणमा पुगिसकेका छन्, जसले दुवैलाई दबाबरहित खेल्न प्रेरित पनि गर्नेछ । जितेर नकआउट चरणमा बलियो मानिसकता प्रस्तुत गर्ने दाउ दुवै टिमको हुनेछ । सँगै सबैभन्दा बढी गोल गर्ने होडबाजीमा एम्बाप्पे र हालान्ड हुनेछन् । यी दुईभन्दा अघि रहेका डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाका मेस्सीले ५ गोल गरेका छन् । यसैपटकदेखि मेस्सीले मिरोस्लाभ क्लोसको १६ गोलको कीर्तिमान भंग गरेका छन् । मेस्सीको गोलसंख्या १८ पुग्दा पछ्याइरहेका एम्बाप्पे १६ गोलमा पुगिसकेका छन् । समूह विजेताको टुंगो लगाउन पनि फ्रान्स र नर्वेबीच प्रतिस्पर्धा हुँदै छ, जसले गोल्डेन बुटको प्रतिस्पर्धालाई समेत थप रोचक बनाउन सक्नेछ ।

यही खेलपछि नकआउट चरणमा बलिया वा सजिला टिमसँग पर्ने निर्क्योल हुनेछ, जसले विश्वकपको जित्ने बाटोसम्मको यात्रालाई डोर्‍याउनेछ । त्यसैले सो खेल दुवैका लागि उत्तिकै महत्त्वले भरिएको हुनेछ ।

अरु युरोपियन टिमले सनसनी मच्याउँदाको युगमा नर्वे भने निरन्तर बाहिरबाट विश्वकपलाई चियाइरहेको टोली हो । चर्चित देश भईकन पनि नर्वेले थोरै मात्र विश्वकप खेलेको छ । यस क्रममा युरोपको ग्रुप ‘आई’बाट नर्वेले यसपटक विश्वकपको बाटो २८ वर्षपछि खनेको थियो । सन् १९३८ मा नर्वेले दोस्रो विश्वकप पहिलोपटक खेलेको थियो । सो विश्वकपमा पहिलो खेलमै इटालीसँग हार्दा नर्वे बाहिरिनुपरेको थियो । दोस्रोपटक विश्वकप खेल्न नर्वेलाई ५६ वर्ष लाग्यो ।

सन् १९९४ मा समूह चरणमा ४/४ अंक भएर पनि नर्वे बाहिरिएको थियो । मेक्सिको, रिपब्लिक अफ आयरल्यान्ड, इटाली र नर्वे सबैको चार/चार अंक भएको थियो । तर, गोलअन्तरले फेरि इटालीभन्दा पछाडि पर्‍यो ।

नर्वेले तेस्रोपटक सन् १९९८ मा खेल्यो, जुन विश्वकप नर्वेको इतिहासमा यादगार रहेर बसेको छ । स्कटल्यान्ड, मोरक्कोसँग बराबरी खेले पनि ब्राजिलविरुद्ध नर्वेले मैदानमा सनसनी नै मच्चाएको थियो । नर्वेले मोरक्कोसँग २–२ र स्कटल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो ।

समूहको अन्तिम खेलमा तत्कालीन डिफेन्डिङ च्याम्पियन ब्राजिललाई २–१ गोलले स्तब्ध बनाइदिएको थियो ।

अन्तिम १६ को नकआउटमा इटालीसँग १–० ले पराजित हुँदै नर्वे क्वार्टरफाइनल प्रवेश गर्न नसकी विश्वकपबाट बाहिरियो । त्यसपछि उसलाई चौथोपटक विश्वकपमा आउन २८ वर्ष लाग्यो । तर, संयोग इटालीबाटै विश्वकपबाट बाहिरिएको नर्वे इटालीलाई नै स्तब्ध बनाउँदै विश्वकपसम्म आइपुगेको टोली हो ।

पहिलोमा ३–० र दोस्रोमा ४–१ गोलले नर्वेले इटालीलाई पाखा लगाएको थियो । एकपटक होइन, चारपटक विश्वकप खेल्ने क्रममा इटाली र नर्वेका अनेक संयोग जोडिएका छन् । इटाली तीनपटक नर्वेको अवरोधक बनेर उभियो । तर चारपटकको च्याम्पियनलाई पाखा लगाउँदै नर्वेले चौथोपटक विश्वकपको ढोका खोल्यो । एउटै टिमसँग चारपटकसम्म यस्तो संयोग मिल्नु आफैँमा दुर्लभ स्थिति हो ।

पछिल्ला मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्ससँग पराजित भए पनि नर्वेले स्वीडेनलाई हराउँदा बलिया स्वीट्जरल्यान्ड र मोरक्कोसँग बराबरी खेलेको थियो ।

विश्वकप छनोटमा त झन् नर्वे आगो नै भएर प्रस्तुत भएको थियो । चारपटकको विश्वविजेता इटालीलाई कसैले पाखा लगाएको थियो भने त्यो नर्वे नै हो । इटालीको टिममा स्टार खेलाडीको कमी थिएन । विश्वकै पहिलो श्रेणीको सिरी ए लिग खेल्ने थुप्रै खेलाडी इटालीको टिममा थिए । तर विडम्बना, लगातार तेस्रोपटक पनि विश्वकपमा पुग्नबाट इटालीलाई स्तब्ध कसैले बनाएको थियो भने त्यो हालान्डप्रेरित नर्वे नै थियो ।

विश्वकप छनोटमा नर्वेको प्रदर्शन च्याम्पियन टोलीको जस्तो थियो । अरु ठूला टिम धरमराउँदा नर्वेले भने एकनासको खेल देखाएको थियो । छनोटका ८ मध्ये ८ वटै खेल जित्न नर्वे सफल भएको थियो, जहाँ ३७ गोल भएका थिए । त्यस क्रममा नर्वेले ५ गोल मात्रै खाएको थियो । हालान्ड एक्लैले १६ गोल ठोकेका थिए ।

अझै रोचक त के छ भने, नर्वेले दुवै खेलमा इटालीलाई स्तब्ध बनाउँदै विश्वकपमा आउनबाट रोकेको थियो । यता रोकिएर प्लेअफमा पुगे पनि इटालीले अभागी सावित हुँदै लगातार तेस्रोपटक विश्वकप मञ्चलाई टाढैबाट हेर्नुपरेको थियो । यस्तै, अनेक कीर्तिमान र रोमाञ्चक क्षणबाट उठेकाले नर्वे यसपटकको विश्वकपलाई झन् यादगार बनाउने योजनामा छ ।

हालान्डले हल्लाइरहेको टोली

क्लब फुटबलमा ब्रायन, ब्रायन टु, मोल्दे र मोल्दे २ बाट खेलेका हालान्ड २०१९ र २०२० मा अस्ट्रियन क्लब रेडबुल साल्जबर्गबाट खेलेका थिए । सन् २०२० देखि २०२२ सम्म जर्मनीको बोरुसिया डर्टमन्डबाट खेले । सोही क्लबमा २० वर्ष नपुग्दै हालान्डले ६७ खेलमा ६२ गोल गरेका थिए । अग्ला, आक्रामक स्ट्राइकर हालान्डको जादु विश्व फुटबलले डर्टमन्डमै देखेको थियो ।

विश्व फुटबलमा अग्ला हालान्डको ‘हाइट’ त्यही डर्टमन्डको मैदानमा अनि जर्सीमा नापिएको थियो । सनसनीपूर्ण जादुयी खेल र गोल गर्ने अद्भूत क्षमतापछि उनी इंग्लिस क्लबको आँखामा परेका थिए, जसमा म्यान्चेस्टर सिटीले बाजी मारेको थियो । उनी सन् २०२२ देखि लगातार सिटीबाट खेलिरहेका मात्रै छैनन्, जितिरहेका पनि छन् । आफूलाई अब्बल देखाइरहेका छन् । १३२ खेलमा ११२ गोल गरेपछि उनी गोलका भोका हुन् भन्न जोसुकैलाई कर लाग्ने गर्छ ।

उमेर समूहबाट हालान्ड २०१९ मै राष्ट्रिय टिममा परेका थिए । ५२ खेलमा उनले देशका लागि ५९ गोल गरिसकेका छन् । तर, अझै गोलका लागि भोक देखाइरहेका छन् । अरु ठूला टिमको जस्तो उनको राष्ट्रिय टिम दाबेदार र उपाधि जित्नेमा राखिएको छैन । तर, यसपटक हालान्डले नर्वेलाई नयाँ उचाइमा पुर्‍याएका छन् ।

विश्व फुटबलमा अरु पनि थुप्रै स्ट्राइकर छन् । तर, मैदानमा हालान्ड पृथक् देखिन्छन् । पाएको थोरै अवसरलाई पनि गोलमा परिणत गर्ने खतरनाक खुबी उनको विशेषता हो । अद्भूत गति, काउन्टर अट्याकमा गोल गर्ने क्षमता, बलिष्ठ शरीरको तागतमा विपक्षी डिफेन्डरलाई पछाडि पार्ने उनको फरक क्षमता छ । मेस्सीजसरी बल ड्रिब्लिङ गर्ने, होल्ड गर्ने कौशल उनी कम देखाउँछन् । एक/दुई टच वा ट्याप इनजस्तो शैली उनको देखिन्छ । तर, बेजोड गतिका कारण खाली ठाउँमा पोजिसनिङ बनाउन माहिर मानिन्छन् उनी, जसले उनको गोल गर्ने विशेषतालाई बल दिने गरेको छ । गोल गर्नुलाई नै लक्ष्य मानेर खेल्ने भएकैले हालान्डलाई ‘क्लिनिकल नम्बर नाइन’ भनिन्छ ।

फ्रन्टमा देखिँदा हालान्ड मात्रै छन् । तर, नर्वे टोली निकै मजबुत छ । मार्टिन ओडेगार्डले कप्तानी गरेको नर्वे टोलीका मुख्य प्लेमेकरसमेत हुन् । खेलमा नियन्त्रण राख्ने र हालान्डलाई गोलको अवसर सिर्जना गर्नेमा सबैभन्दा ठूलो भूमिकामा उनी देखिएका छन् । आर्सनलबाट खेल्ने उनी टिमका भरोसा हुन् ।

अलेक्जेन्डर सोरलोथ अर्का राम्रा स्ट्राइकर हुन् । एट्लेटिको म्याड्रिडबाट खेल्ने उनी डिफेन्डरलाई दबाबमा राख्न सक्छन् । एन्टोनियो नुजा विङभित्र कट गरेर गोलका लागि अवसर सिर्जनामा काबिल छन् । मिडफिल्डमा प्याट्रिक वर्ग, रक्षात्मक मिडफिल्डरमा स्यान्डर वर्ग, सेन्टरल ब्याकमा क्रिस्टोफर अजेर छन् । प्रायः खेलाडी अग्ला, पेसमा खेल्न सक्ने भएकाले काउन्टर अट्याक खेलेरै विपक्षीलाई दबाबमा राख्न सक्छन् ।

आफूले बल गुमाए पनि सामूहिक प्रेसिङ गरेर दबाब बढाउनेमा नर्वे माहिर टोली मानिन्छ । दबाबमा नआई आक्रामक फुटबल खेल्ने र स्कोर गर्न सक्ने भएकाले पनि यसपटक नर्वेको टोलीलाई ‘गोल्डेन जेनेरेसन’ भनिन थालिएको छ । किनकि उनीहरूले छिटफुट मात्रै राम्रो खेलेका छैनन् । लामो समयसम्म एकनासको खेल खेल्दै आफूलाई युरोपको बलियो टोलीमध्येमा अपग्रेड गर्ने तयारीमा टोली नर्वे छ ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३

२१:०९

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)