मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

setopati.com · Tue Jun 23 15:33:06 GMT 2026

गृहमन्त्री सुधन गुरूङले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई तीन लाख रूपैयाँ जरिवाना गरिएको छ।

गृहमन्त्रीको सचिवालय अनुसार मंगलबार चितवनको लर्ड्स बिजनेस कम्प्लेक्स होटलमा सुधनले अम्लेट खाने क्रममा माछा काँडा भेटिएको थियो।

अम्लेटमा 'अखाद्य वस्तु' भेटिएको भन्दै सञ्चालक टिमसँग सोधपुछ गरिएको थियो।

भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित लर्ड्सलाई तीन लाख रूपैयाँ जरिवाना गरिएको र बरामद गरिएका खाद्य सामग्रीहरू नष्ट गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको छ।

प्रशासकीय अधिकृत मदन लामा थिङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'खानाको गुणस्तरका सम्बन्धमा उपभोक्ताहरूबाट प्राप्त जनगुनासो समेतका आधारमा सहायक प्रमुख जिल्ला अधिकारी सहितको निरीक्षण टोलीबाट भएको अनुगमनमा उक्त होटलले गुणस्तरहीन खाने तेलको प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान दिएको नपाईएको तथा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गरी खानेकुरा उपलब्ध गराएको पाइएको छ।'

उल्लिखित कैफियतहरूको विश्लेषणबाट उक्त होटलले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ को खण्ड (क) तथा सोही ऐनको दफा ३८ को खण्ड (ङ) कसुर गरेको पाइएको प्रशासन कार्यालय, चितवनले जनाएको छ।

'सहायक प्रमुख जिल्ला अधिकारी (निरीक्षण अधिकृत) को निर्णयानुसार सो होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम तीन लाख रूपैयाँ जरिवाना गरी बरामद गरिएका खाद्य सामाग्रीहरु नष्ट गर्ने निर्णय भएको छ,' विज्ञप्तिमा भनिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)