मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपमा चर्चित बन्दै नर्वेको ‘भाइकिङ रो’ उत्सव, के छ यसको रहस्य ?

nepalpress.com · Tue Jun 23 15:47:06 GMT 2026

काठमाडौं। फुटबलको सबैभन्दा ठूलो मञ्च विश्वकपबाट २८ वर्ष टाढा रहेको नर्वेले यसपटक मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि सबैको ध्यान आकर्षित गरिरहेको छ।

नर्वेले विश्वकपका आफ्ना दुवै प्रारम्भिक खेल जित्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेको छ। उसले पहिलो खेलमा इराकलाई पराजित गरेको थियो भने सोमबार सेनेगललाई ३–२ ले हराउँदै नकआउट चरणको यात्रा तय गर्‍यो।

टोलीका मुख्य स्ट्राइकर एर्लिङ हालान्ड चार गोलसहित गोल्डेन बुटको दौडमा अग्रपङ्क्तिमा छन्।

तर नर्वेको चर्चा केवल उत्कृष्ट प्रदर्शनका कारण मात्र होइन। उसका समर्थकहरूले प्रस्तुत गरेको विशेष सांस्कृतिक उत्सव ‘भाइकिङ रो’ ले पनि प्रतियोगिताभर चर्चा बटुलिरहेको छ।

के हो ‘भाइकिङ रो’ ?

नर्वेको आधिकारिक समर्थक समूह ‘ओल्येबेर्गेट सपोर्टरक्लुब’ ले विश्वकपमा आफ्नै पहिचान स्थापित गर्ने उद्देश्यले ‘रो’ नामक विशेष सामूहिक उत्सवको सिर्जना गरेको हो। यो उत्सव उत्तर अमेरिकामा आयोजित विश्वकपका क्रममा नर्वेले खेलेका सबै खेलमा देखिएको छ।

‘रो’ शब्दको अर्थ नर्वेजियन भाषामा ‘डुङ्गा खियाउने’ हुन्छ। यसको सुरुआत समर्थक समूहका अगुवामध्ये एक जनाले भाइकिङ शैलीको सिङ फुकेर गर्छन्। त्यसपछि समर्थकहरूले दुबै हात अगाडि तन्काएर डुङ्गा खियाएझैँ गर्ने तयारी गर्छन्।

अर्का अगुवाले समर्थकहरूको अगाडि उभिएर तालमेल मिलाउँछन्। ढोलमा दुई पटक ताल बजाइएपछि समर्थकहरूले एकै स्वरमा “रो” भन्दै डुङ्गा खियाउने शैलीमा हात चलाउँछन्। सुरुआतमा बिस्तारै सुरु हुने यो गतिविधि क्रमशः तीव्र बन्दै जान्छ र अन्त्यमा समर्थकहरू सिटबाट उठेर सामूहिक रूपमा गीत तथा नाराबाजी गर्न थाल्छन्।

सेनेगलविरुद्धको खेलपछि नर्वेली खेलाडीहरू पनि समर्थकहरूसँगै यो उत्सवमा सहभागी भएका थिए। टोलीका कप्तान मार्टिन ओडेगार्डले ढोल बजाएर समर्थकहरूको तालमेल मिलाएका थिए भने एक समर्थकले भाइकिङ सिङ फुकेका थिए।

यो उत्सव पहिलो पटक मार्च महिनामा स्विट्जरल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलमा प्रदर्शन गरिएको थियो। त्यसयता यो नर्वेली समर्थकहरूको पहिचानजस्तै बनेको छ। नर्वेको संसद्का सदस्यहरूले समेत टोलीप्रति समर्थन जनाउन ‘रो’ प्रदर्शन गरेका थिए। सेनेगलसँगको खेलअघि नर्वेली समर्थकहरूले न्युयोर्कको टाइम्स स्क्वायरमा पनि यही प्रदर्शन गरेर स्थानीय बासिन्दाको ध्यान तानेका थिए।

अन्य टोलीसँग पनि यस्तै परम्परा छ ?

‘रो’ को आफ्नै मौलिक पहिचान भए पनि यसले सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा चर्चित बनेको आइसल्यान्डको ‘थन्डरक्ल्याप’बाट केही प्रेरणा लिएको मानिन्छ।

आइसल्यान्डले फ्रान्समा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम १६ मा इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरेको थियो। तर मैदानबाहिर उसका समर्थकहरूको ‘थन्डरक्ल्याप’ अझ बढी चर्चित बनेको थियो।

यसमा एक अगुवाले टाउकोमाथि हात ठटाउँदै गहिरो स्वरमा “हु” भन्ने गर्छन्। त्यसपछि समर्थकहरूले सामूहिक रूपमा ताल मिलाएर हात ठटाउँछन्। ‘रो’ जस्तै यो पनि बिस्तारै सुरु भएर क्रमशः तीव्र बन्छ।

आइसल्यान्डबाट चर्चित बनेको यो शैली अमेरिकी फुटबल लिगसम्म पुगेको छ। मिनेसोटा भाइकिङ्स टोलीका समर्थकहरूले पनि यसबाट प्रेरणा लिएर सामूहिक नाराबाजी गर्ने गरेका छन्।

उनीहरू प्रायः “स्कोल” भन्ने नाराको प्रयोग गर्छन्, जुन स्क्यान्डिनेभियाली संस्कृतिमा प्रयोग हुने शुभकामना वा टोस्टको शब्द हो।

विश्वकपअघि नै आकर्षणको केन्द्र बनेको नर्वे

विश्वकपअघि नर्वेले सार्वजनिक गरेका प्रचार सामग्रीहरूले पनि व्यापक चर्चा पाएका थिए।

टोली घोषणा गर्ने भिडियोमा नर्वेका राजा हेराल्डले स्वयं वाचन गरेका थिए। सन् १९९८ पछि पहिलो पटक विश्वकपमा पुगेको टोलीलाई सम्बोधन गर्दै उनले प्रेरणादायी सन्देश दिएका थिए।

भिडियोमा किसानदेखि बन्दरगाहमा काम गर्ने श्रमिकसम्मका सामान्य नागरिकलाई समेटिएको थियो र टोलीलाई “सम्पूर्ण देशले निर्माण गरेको टोली” भनेर चित्रण गरिएको थियो।

यस्तै, उत्तर क्यारोलिनास्थित प्रशिक्षण शिविरतर्फ प्रस्थान गर्नुअघि चर्चित स्कटिस फोटोग्राफर डेभिड यारो र नर्वेली फुटबल सङ्घले हालान्डसहितका खेलाडीलाई भाइकिङ पोसाकमा सजाएर नर्वेका रमणीय फियोर्डको पृष्ठभूमिमा विशेष तस्बिरसमेत खिचेका थिए।

कति बलियो छ नर्वे ?

विश्वकप सुरु हुनुअघि नै नर्वेलाई धेरैले ‘डार्क हर्स’ अर्थात् अप्रत्याशित रूपमा उपाधि चुनौती दिन सक्ने टोलीका रूपमा हेरिरहेका थिए। यसको प्रमुख कारण उसको आक्रमणपङ्क्तिको शक्ति र उत्कृष्ट छनोट चरण प्रदर्शन हो।

मुख्य प्रशिक्षक स्टाले सोलबाकेनको नेतृत्वमा नर्वेले छनोट चरणका सबै आठ खेल जितेको थियो। उसले इटालीलाई बाहिर ४–१ र घरेलु मैदानमा ३–० ले हराउँदै समूहको शीर्ष स्थान हासिल गरेको थियो।

छनोट चरणमा हालान्डले १६ गोल गरेका थिए, जुन युरोपेली छनोट चरणका दोस्रो उच्च गोलकर्ताभन्दा दोब्बर बढी थियो।

इराकविरुद्धको खेलमा सुरुआत केही कठिन भए पनि नर्वेको आक्रमण शक्ति निर्णायक बन्यो। त्यसपछि सेनेगलमाथिको जितले टोलीको दाबेदारी अझ बलियो बनाएको छ।

अब नर्वेले शुक्रबार समूह ‘आई’ को विजेता तय गर्न फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। यो खेल प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक बन्न सक्ने अनुमान गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय