बाँदर धपाउन नगरपालिकाको बजेट
onlinekhabar.com · Tue Jun 23 16:14:06 GMT 2026

९ असार, खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउन बजेट विनियोजन गरेको छ । बाँदरको आतंकबाट पीडित किसानलाई राहत दिलाउने उद्देश्यका साथ नगरपालिकाले ‘बाली हेराला’ राख्ने भन्दै त्यसका लागि बजेट विनियोजन गरेको हो ।
मंगलबार नगरसभामा उपमेयर विसन राईले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा ‘बाँदर लगायतका हानीकारक वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्युनीकरणका लागि ४५ लाख विनियोजन’ गरिएको छ ।
नगरसभामा मेयर तीर्थराज भट्टराईले बाँदरको समस्यलाई निराकरण गर्नका लागि ‘बाली हेराला’ राख्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसमा बजेटसमेत विनियोजन भएको छ ।
यस्तै, नगरपालिकाले बाँदरको समस्या समाधान गर्न संघीय सरकार तथा छिमेकी पालिकाहरूसँगको समन्वयमा अल्पकालीन र दीर्घकालीन योजना बनाउने पनि नीति तथा कार्यक्रम तय गरेको छ ।
यस्तै, नगरपालिकाले ‘किसानलाई के चाहिन्छ ?’ कार्यक्रम सञ्चालन गर्ने पनि जनाएको छ । यस अन्तर्गत किसानको घरदैलोमा पुगेर प्राविधिक सेवा, उन्नत बीउबिजन वितरण, एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)