रास्वपाको राजनीतिक विचारधारा : सुशासन, सामाजिक बजार अर्थतन्त्र र प्रत्यक्ष नागरिक सहभागितामा जोड [पूर्णपाठ]
aarthiknews.com

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनमार्फत पार्टीको राजनीतिक, आर्थिक र सामाजिक विचारधारालाई औपचारिक रूपमा सार्वजनिक गरेको छ। पार्टी सभापति रवि लामिछानेद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनले रास्वपाको वैचारिक आधार परम्परागत वाम–दक्षिण ध्रुवीकरणभन्दा फरक रहेको दाबी गरेको छ।
रास्वपाले आफूलाई कुनै निश्चित वामपन्थी वा दक्षिणपन्थी कित्तामा सीमित नराखी सुशासन, सामाजिक न्याय, लोकतन्त्र, नागरिक स्वतन्त्रता र सामाजिक बजार अर्थतन्त्रको पक्षमा उभिएको पार्टीका रूपमा व्याख्या गरेको छ।
सामाजिक बजार अर्थतन्त्रमा जोड
रास्वपाको आर्थिक नीतिको मुख्य आधार सामाजिक बजार अर्थतन्त्र’ रहेको उल्लेख गरिएको छ। पार्टीका अनुसार खुला बजार प्रणालीलाई स्वीकार गर्दै राज्यले निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्ने, एकाधिकार नियन्त्रण गर्ने तथा आर्थिक वृद्धिको प्रतिफल समाजका सबै वर्गमा न्यायोचित रूपमा वितरण हुने व्यवस्था निर्माण गर्नुपर्नेछ। प्रतिवेदनमा राज्य स्वयं व्यापारी बन्नुभन्दा नियामक, सहजीकरणकर्ता र सेवा प्रदायकको भूमिकामा रहनुपर्ने अवधारणा अघि सारिएको छ।
सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
रास्वपाले नेपालको राजनीतिक प्रणालीमा देखिएको भ्रष्टाचार, दण्डहीनता र शक्तिको दुरुपयोगलाई लोकतन्त्रको प्रमुख चुनौती मानेको छ। पार्टीले सार्वजनिक संस्थाहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै पारदर्शी, जवाफदेही र परिणाममुखी शासन प्रणाली स्थापना गर्ने प्रतिबद्धता जनाएको छ। भ्रष्टाचार नियन्त्रण, सार्वजनिक खर्चमा पारदर्शिता, डिजिटल शासन प्रणाली तथा सेवा प्रवाहमा सुधारलाई पार्टीले प्राथमिक एजेन्डाका रूपमा अघि सारेको छ।