स्वास्थ्य मन्त्रालयले भन्यो- रेबिज खोप अभाव छैन
nepalnews.com · Tue Jun 23 16:57:28 GMT 2026

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिजविरुद्धको खोपको अभाव नभएको बताएको छ।
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले रेबिजविरुद्धको खोप अभाव नभएको बताए। उनले सरकारसँग पर्याप्त मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि खोप सबै अस्पतालका रहेको बताए। “हामीसँगै धेरै मात्रामा खोप छैन। बिरामीलाई आकस्मिक रूपमा लगाउनका लागि खोप छ‚” उनले भने, “चाँडै टेन्डर प्रक्रियाबाट खोप आउँदै छ।”
अधिकारीले नयाँ पाँच हजार भाइल खोप ल्याउन टेन्डर आह्वान भइसकेको जानकारी गराए। गत माघ, चैत र जेठमा तीनपटक टेन्डर आह्वान गरेर नआएपछि पुनः टेन्डर गरेर खोप ल्याउने प्रक्रिया सुरु गरिएको बताए।
कुकुर, बिरालो र बाँदरजस्ता जनावरले टोकेपछि रेबिजविरुद्धको खोप लगाउनुपर्छ। उनका अनुसार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दुई तीन दिनभित्रमा चार हजार ५०० भाइल खोप उपलब्ध गराउने बताए।
केही समयअघि मात्र आकस्मिक उपचारका लागि डब्ल्यूएचओले पाँच हजार भाइल खोप उपलब्ध गराएको थियो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले अस्पतालमा आउने बिरामीलाई रेबिजविरुद्धको खोप लगाइरहेको बताए।
“अस्पतालमा रेबिजविरुद्धको खोप लगाउने आउने सबै बिरामीलाई हामीले खोप लगाइरहेका छौँ‚” उनले भने, “हाम्रो अस्पतालमा रेबिजविरुद्धको खोपको अभाव छैन।” उनका अनुसार अस्पतालमा दैनिक १८० जना रेबिजविरुद्धको खोप लगाउने आउने गर्छन्।
अस्पतालका मेडिकल अभिलेख शाखा प्रमुख तथा सहप्रवक्ता अधिकारीले यही आर्थिक वर्षमा मात्र ५५ हजार ७५९ बिरामीलाई रेबिजविरुद्धको खोप लगाइएको छ। आव ०८०/८१ मा ६३ हजार ८१५ जना, आव ०८१/८२ मा ४७ हजार ५८६ जनालाई रेबिजविरुद्धको खोप लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)