अवरुद्ध पृथ्वीराजमार्ग साढे तीन घण्टापछि सुचारु
gorkhapatraonline.com · Tue Jun 23 17:02:07 GMT 2026

सवारी दुर्घटनाले गर्दा अवरुद्ध बनेको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड साढे तीन घण्टापछि पूर्ण रूपमा सुचारु भएको छ ।
आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रको पावर हाउस नजिकै मङ्गलवार साँझ सवा ६ बजे दुईवटा ठुला सवारीसाधन एकापसमा ठोक्किँदा राजमार्ग दुवैतर्फ अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार दुर्घटना लगतै खटिएको प्रहरी टोलीले क्रेनको सहायताले दुर्घटनाग्रस्त सवारीसाधनहरूलाई सडकबाट पन्छाएपछि रातको ९ः४५ मिनेटमा राजमार्ग पुनः सुचारु गराइएको हो ।
मुग्लिनबाट आँबुखैरेनी जाँदै गरेको मधेस प्रदेश ०३–००१ क २७०० नम्बरको तेल बोक्ने ट्याङ्कर र विपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ७७७५ नम्बरको मालबाहक डिब्बा ट्रक एकापसमा ठक्कर खाँदा दुवै सवारीसाधन सडकमै अड्किएर राजमार्ग पूर्ण रूपमा ठप्प बनेको थियो ।
राजमार्ग खुलाउनका लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनी र जिल्लाबाट प्रहरी नायब उपरीक्षक घिमिरेकै कमाण्डमा ट्राफिक प्रहरीसहित ३५ जनाको ठुलो प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो । व्यस्त राजमार्गमा वैकल्पिक सडक नहुँदा साढे तीन घण्टासम्म सयौँ सवारीसाधन र हजारौँ यात्रीहरू सडकमै अलपत्र परेका थिए।
सडक दुवैतर्फ खुलेसँगै रोकिएका सवारीसाधनहरू आ–आफ्नो गन्तव्यतर्फ लागेको र यातायात आवगमन पूर्ववत् रूपमा सुचारु भइसकेको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)