समूह चरणमा अंक बराबरी भए के हुन्छ? टिमहरु नकआउट चरणमा कसरी पुग्नछन्?
onlinekhabar.com · Tue Jun 23 16:58:09 GMT 2026

९ असार, काठमाडौं । उत्तर अमेरिकाको तीन राष्ट्रमा भइरहेको फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरु अब अन्तिम चरणतर्फ अघि बढ्दैछ । मंगलबार राती देखि बुधबार बिहानसम्म सहभागि सबै टोलीले कम्तीमा दुई खेल खेलिसक्नेछन् ।
यस पटक टिम संख्या देखि खेल संख्या बढ्नु र फर्म्याटमा पनि केही परिवर्तन हुँदा विश्वकपको उत्साह र कौतुहलता बढ्दो छ ।
समुह चरणमा दुई खेल खेल्दा नै केही टिम समूह विजेता बन्ने देखि केही टिम समूह चरणबाटै बाहिरिने निर्णय भइसकेको छ ।
अहिलेसम्मकै ठुलो फिफा विश्वकपमा ४८ टिमको सहभागिता छ ।
यस पटक टिम संख्या ३२ बाट बढेर ४८ पुग्दा प्रतियोगिताको फर्म्याटमा पनि केही परिवर्तन भएको छ । जसले गर्दा समूह चरणमा बराबरी अंक भए अगाडि बढ्ने टिमको टुङ्गो लाग्ने नियमममा पनि परिवर्तन भएको छ ।
यस पटक टिम संख्या बढ्दा समूह पनि बढेको छ र खेल पनि बढेको छ ।
टिम संख्या थपिएपछि यस पटक राउण्ड अफ ३२ को नयाँ नकआउट चरण पनि थपिएको छ ।
विश्वकपमा सहभागि भएका ४८ टिममध्ये ३२ टिम नकआउट चरणमा पुग्दा १६ टिम मात्र समूह चरणबाट बाहिरिनेछ ।
यस्तै यस पटक समूहमा शीर्ष दुईमा नरहने टिमको लागि पनि नकआउट चरणमा पुग्ने सम्भावना कायम रहन्छ ।
समूह चरणको खेलपछि १२ वटे टिमको समुह विजेता र समूह उपविजेता गरी कूल २४ टोली सिधै नकआउट चरणमा प्रवेश गर्नेछन् । साथै तेस्रो स्थानमा रहने १२ मध्ये उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा प्रवेश गर्नेछन् ।
पछिल्लो पटक सन् १९९४ मा अमेरिकामै भएको विश्वकपमा पनि तेस्रो हुने टोलीका लागि नकआउट चरणमा पुग्ने प्रावधान थियो ।
३२ वर्षपछि फेरि अमेरिकामा विश्वकप फर्कँदा तेस्रो हुने टिमले पनि अगाडि बढ्ने अवसर पाउँदैछन् ।
गोल भिन्नताको सट्टा हेड टु हेड नतिजा लागु हुने
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस पटक विश्वकपमा दुई वा सो भन्दा बढी टिमको अंक बराबरी भए हेड टु हेडको नियम लागु गर्देछ ।
यसअघि दुई टिमको अंक बराबरी भएमा गोल भिन्नता हेर्ने नियम थियो । तर फिफाले पहिलो पटक हेड टु हेडको नतिजा हेर्ने भएको हो ।
जसले गर्दा समूह चरणमा दुई खेल जित्ने टिम समुह विजेता नै बन्ने अवस्था बनेको छ ।
सहआयोजक मेक्सिको र अमेरिका दुई-दुई खेल जित्दै आ-आफ्नो समूहको विजेता बन्दे नकआउट चरणमा पुगेका छन् ।
यस्ते जर्मनी र साविक विजेता अर्जेन्टिना पनि दुई-खेल जितेर अन्य खेलको नतिजा पनि आफुअकुल हुँदा समूह विजेता बनिसकेका छन् ।
अर्कोतर्फ नयाँ नियमले गर्दा लगातार दुई खेल हारेका हाइटी, टर्किए, जोर्डन, ट्युनिसिया जस्ता टिम समूह चरणबाटे बाहिरिने पक्का भइसकेको छ ।
यदी समूह चरणमा दुई वा सो भन्दा बढी टिमको अंक बराबरी भएमा यस प्रकारको नियम लागु गरिनेछ ।
सुरुमा अंक बराबरी भएको दुई टिमको हेड टु हेड नतिजा हेरिनेछ । त्यसपछि सम्बन्धित दुई टिमबीचको खेलको गोल भिन्नता हेरिनेछ र तेस्रोमा सम्बन्धित खेलमा गरिएको उच्च गोल संख्या हेरिनेछ ।
यदी यी तिनै नियमबाट पनि निर्णय हुन नसकेकोमा समूह चरणको सबै खेलहरुको समग्रमा गोल भिन्नता हेरिनेछ । त्यो पनि बराबरी भएमा समूह चरणमा गरेको गोल संख्या हेरिनेछ अनी समूह चरणमा अनुशासन (रातो कार्ड वा पहेँलो कार्ड) को संख्या हेरिनेछ ।
माथिका सबै नियम पनि बराबरी भएमा अन्तिममा फिफा वरियता हेरिनेछ ।
नकआउट चरणमा पुग्ने बाटो
यस पटक समूहका शीर्ष दुई मात्र नभएर तेस्रो हुने टिमको लागि पनि नकआउट चरणमा पुग्ने अवसर भएकोले समुह चरणको समिकरण पनि रोमाञ्चक बन्दैछ । समूहमा हरेक टिमले अन्तिम खेल खेल्नुअघि नकआउट चरण पुगिसकेका बाहेक अन्य टिमलाई कस्तो समिकरण चाहिन्छ भन्ने विषय पनि रोचक हुनेछ ।
तेस्रो हुने १२ टिममध्ये ८ टिम नकआउट चरणमा पुग्दा ४ टोली भने अभागी बन्दै बाहिरिनेछ ।
अहिले प्रशिक्षक, खेलाडी र समर्थकहरूले तेस्रो हुने मध्येबाट उत्कृष्ट ८ टिममा पर्नका लागि के आवश्यक छ भन्ने विषय मुल्याङ्कन गरिरहेका छन् ।
उत्कृष्ट तेस्रो टोली छनोट गर्न भने गोल अन्तर निर्णायक बन्ने सम्भावना धेरै रहन्छ ।
यदी तेस्रो हुने टिमहरुको अंक फरक-फरक भएमा भने टिम छनोट गर्न सहज हुनेछ । अंक बराबरी भएको खण्डमा भने गोल अन्तर हेरिनेछ । त्यसैले समुह चरणमा सकेसम्म धेरै गोल गर्नु टिमका लागि महत्वपूर्ण बन्नेछ ।
उदाहरणका लागि यदी स्कटल्याण्डले आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकपमा समूह चरण पार गर्ने सम्भावना कायम राख्न ब्राजिल विरुद्धको अन्तिम खेलमा ठुलो हार टार्नुपर्नेछ ।
स्कटल्यान्डले पहिलो खेलमा हाइटीलाई १-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा मोरक्कोसँग १-० कै नतिजाले पराजित भएको थियो ।
अहिले स्कटल्यान्डको गोल अन्तर शुन्य छ ।
यदि ब्राजिल विरुद्ध पराजित भएको खण्डमा पनि थोरै गोल अन्तरले पराजित भएमा उत्कृष्ट तेस्रो हुने टिम भित्र पर्न स्कटिस टोलीलाई सहज हुनेछ ।
तेस्रो हुने टिममध्ये सबैभन्दा धेरै अंक जोड्ने टिमहरु नकआउट चरणमा प्रवेश गर्नेछन् । तर टोलीको अंक समान भएमा भने टाईब्रेकर छुट्याउनका लागि सुरुमा गोल अन्तर हेरिनेछ । त्यसपछि टिमले गरेको गोल, अनुशासन (रातो र पहेँलो कार्ड) हेरिनेछ र अन्तिममा फिफा वरियता हेरिनेछ ।
तेस्रो हुने टिमको वरियता निर्धारण भइसकेपछि नकआउट चरणमा कुन प्रतिद्वन्दीसँग खेल्ने टुङ्गो लाग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)