तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
ratopati.com · Tue Jun 23 17:23:52 GMT 2026

हेटौँडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ को उपाधि काठमाडौँ जिल्लाले जितेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा असार १ गतेदेखि सुरु भएको प्रतियोगितामा सर्वाधिक पदक जित्दै काठमाडौँ च्याम्पियन बनेको हो ।
प्रतियोगितामा ५१ स्वर्ण, ३८ रजत र ४२ कांस्यसहित कुल १३१ पदक जितेर काठमाडौँ प्रथम भयो । ललितपुरले पनि काठमाडौँ बराबर कुल १३१ पदक नै जिते पनि स्वर्ण पदक सङ्ख्या कम (४६ स्वर्ण, ४१ रजत र ४४ कास्य) भएका कारण दोस्रो स्थानमा सीमित भयो । यसैगरी, ३० स्वर्ण, २८ रजत र २७ कांस्यसहित कुल ८५ पदक जितेर चितवन तेस्रो स्थानमा रह्यो ।
विजेता काठमाडौंले नगद १ लाख रुपैयाँ, दोस्रो भएको ललितपुरले ७५ हजार र तेस्रो भएको चितवनले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।
पदक तालिका अनुसार काभ्रे ५८ पदकसहित चौथो स्थानमा रह्यो । भक्तपुरले ७५ पदक, मकवानपुरले ५३, सिन्धुपाल्चोकले ३१, नुवाकोटले ४२ र धादिङले ४० पदक जितेका छन् । यस्तै रामेछापले ३२, सिन्धुलीले ३५, रसुवाले १३ र दोलखाले १८ पदक प्राप्त गरे ।
प्रतियोगिताको अन्तिम दिन मंगलबार फुटबलका फाइनल खेलहरू सम्पन्न भए । महिला फुटबलको फाइनलमा चितवनलाई १–० ले पराजित गर्दै काठमाडौँ च्याम्पियन बन्यो । काठमाडौँकी मनिषा आले मगर उत्कृष्ट खेलाडी घोषित भइन् ।
पुरुष फुटबलको उपाधि भने चितवनले जितेको छ । फाइनलमा मकवानपुरसँग निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि टाइब्रेकरमा चितवन ३–१ ले विजयी भयो । पुरुषतर्फ मकवानपुरका अभिषेक भोलन उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट खेलाडीहरूले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।
बागमती प्रदेशका १३ वटै जिल्ला सहभागी यस प्रतियोगितामा विभिन्न १५ खेल विधामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा कुल २ हजार ७०७ खेलाडी (१,५१५ पुरुष र १,१९२ महिला) ले ७४४ पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)