रास्वपा केन्द्रीय सदस्यमा सोबिताको उम्मेदवारी दर्ता
onlinekhabar.com · Tue Jun 23 17:29:37 GMT 2026

९ असार, काठमाडौं । रास्वपा महाधिवेशन जारी छ । गत आइतबार चितवनमा उद्घाटन भएको महाधिवेशनको आज बन्द सत्र पनि सकिएको छ ।
बन्द सत्र सकिएसँगै अहिले केन्द्रीय सदस्य पदका लागि धमाधम उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेको पार्टी निर्वाचन केन्द्रीय समितिले जनाएको छ ।
यसैबीच कानुन, न्याय तथा संसदीय मामिला मन्त्री समेत रहेकी नेता सोबिता गौतमले केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेकी छिन् । रास्वपा सचिवालय सदस्य समेत रहेकी उनले बन्द सत्र सकिएलगत्तै आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनी रास्वपाको संस्थापक सदस्य पनि हुन् । ०७९ असारमा मा रवि लामिछानेले पार्टी स्थापना गर्दादेखि नै रास्वपामा सक्रिय रहेकी उनी दोस्रोपटक प्रत्यक्ष तर्फबाट प्रतिनिधिसभा सदस्य बनेर संसद् प्रवेश गरेकी हुन् ।
अघिल्लो कार्यकालमा काठमाडौं–२ बाट निर्वाचित भएकी उनी यो कार्यकालमा चितवन–३ बाट निर्वाचित भएकी हुन् । रास्वपाले सुरुमा केन्द्रीय सदस्यको निर्वाचन गरेर त्यसपछि मात्रै पदाधिकारीको निर्वाचन गर्दैछ ।
सभापति र वरिष्ठ नेता बाहेक अन्य पदमा आकांक्षीहरूको लर्को छ । गौतमले पदाधिकारीमा भने आफू कुन पदको आकांक्षी रहने भन्नेबारे खुलाएकी छैनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)