दिल्ली पुगेलगत्तै अभिजीतले भने : प्रदर्शन शान्तिपूर्ण हुन्छ, शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ
onlinekhabar.com · Sat Jun 06 04:50:58 GMT 2026

२३ जेठ, काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले दिल्ली पुग्नेबित्तिकै भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन् ।
दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै दीपकेले भने, ‘शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ। पाँच जना विद्यार्थीले आत्महत्या गरिसकेका छन् ।’
दीपकेले नीट परीक्षा प्रश्नपत्र चुहावट प्रकरणसँग जोडिएका ती विद्यार्थीहरूलाई सम्झिँदै केहीले आत्महत्या गरेको दाबी गरेका हुन् ।
यसैबीच, दीपकेले सामाजिक सञ्जाल एक्समार्फत दिल्ली प्रहरीले जन्तर-मन्तरमा प्रदर्शन गर्न अनुमति दिएको जानकारी दिएका छन् । उनले समर्थकहरूलाई सिधै जन्तर-मन्तर पुग्न आह्वान गरेका छन् ।
शान्तिपूर्ण प्रदर्शन हुने उनले बताए । सीजेपीले पनि एक्समा पोस्ट गर्दै जन्तर-मन्तरमा प्रदर्शनको अनुमति प्राप्त भएको पुष्टि गरेको छ। पार्टीले आफ्ना समर्थकहरूलाई प्रदर्शनस्थलमा भेला हुन आग्रह गरेको छ ।
सिजेपीले शिक्षामन्त्रीविरुद्ध प्रदर्शन घोषणा गरेको हो । सोही प्रदर्शनका लागि पार्टीका संस्थापक अभिजीत अमेरिकाबाट दिल्ली आइपुगेका हुन् । अहिले प्रदर्शनको तयारी थालिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ