शङ्खरापुरको एक अर्ब ५१ करोडको बजेट पारित
baahrakhari.com · Tue Jun 23 17:48:44 GMT 2026

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ५१ करोड १० लाख ५८ हजारको बजेट पारित गरेको छ ।
नगरपालिकाको १२औँ नगरसभाले उक्त बजेट सर्वसम्मत रूपमा पारित गरेको हो । नगरसभाले प्रस्तुत गरेको बजेटमध्ये चालुतर्फ ६७ करोड ६२ लाख २७ हजार ४८ अर्थात् ४४ दशमलव ७० प्रतिशत र पुँजीगततर्फ ८३ करोड २३ लाख ५६ हजार २५२ रुपैयाँ अर्थात ५५ दशमलव ३० प्रतिशत विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनतर्फ २५ लाख अर्थात् ० दशमलव १६ प्रतिशत बजेट छुट्याइएको छ ।
बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ३५ करोड ५० लाख १९ हजार ६०, राजस्व बाँडफाँडबाट २५ करोड ६६ लाख १४ हजार २४०, संघीय सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ३६ करोड १७ लाख, प्रदेश सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड ५६ लाख ७७ हजार तथा सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रमका लागि १३ करोड प्राप्त हुने अनुमान गरिएको छ ।
नगरसभामा प्रस्तुत बजेटले पूर्वाधार विकास, पर्यटन र कृषि विकास, सेवा प्रवाह सुधार, सामाजिक सुरक्षा तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको नगर प्रमुख रमेश नापितले बताए ।
कार्यक्रममा नगरप्रमुख नापितले आगामी आर्थिक वर्षका लागि नगरपालिकाको नीति तथा कार्यक्रम र उपप्रमुख समिता श्रेष्ठले आर्थिक विधेयक प्रस्तुत गरेका थिए । नगरसभामा प्रस्तुत भएका विधेयक तथा अन्य प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । रासस
#शंखरापुर नगरपालिका
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)