१६ वर्षपछि चरम खडेरीमा बित्यो यसपालिको हिउँद
nayapatrikadaily.com · Mon Mar 04 00:30:00 GMT 2024
यसपटकको हिउँद (१५ मंसिरदेखि १७ फागुनसम्म) चरम खडेरीमा बितेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो हिउँदमा औसत वर्षाको २१ प्रतिशत अर्थात् १२.५ मिलिमिटर मात्र वर्षा भएको छ । जुन पछिल्ला १६ वर्षपछिका हिउँदकै कम वर्षा हो । ०६५ मा ११.८ मिलिमिटर मात्र पानी परेको थियो ।सुक्खामै बितेको गत वर्षको हिउँदमा १२.९ मिलिमिटर पानी परेको थियो । देशभरका २० वटा मुख्य वर्षा मापन केन्द्रको औसत आँकडाअनुसार हिउँदमा औसत ६०.१ मिलिमिटर (वार्षिक वर्षाको तीन प्रतिशत) पानी पर्नुपर्ने हो ।
यसपटकको हिउँद देशव्यापी ७९ प्रतिशत हाराहारी सुक्खा रहेकामा मध्य र पूर्वी नेपालमा भने झन्डै शतप्रतिशत खडेरी रह्यो । सरदर वर्षाको ७५ प्रतिशतभन्दा कम भएमा खडेरीको अवस्था हुन्छ भने जम्मा सरदर वर्षाको २१ प्रतिशत मात्र वर्षा हुनु भनेको अधिक खडेरीको अवस्था हो । मापन केन्द्रहरूको सरदर वर्षासँग तुलना गर्दा भैरहवा, सिमरा, जनकपुर, विराटनगर, धरान र ताप्लेजुङ क्षेत्रमा पाँच प्रतिशत पनि पानी परेको छैन । धनकुटा त हिउँदभर शतप्रतिशत खडेरीमै बितेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)