शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
ratopati.com · Tue Jun 23 19:52:26 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को महत्त्वपूर्ण खेलमा आज इङ्गल्याण्ड र घानाबिच प्रतिस्पर्धा हुँदै छ । अमेरिकाको बोस्टन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बुधबार बिहान १ः४५ बजे सुरु हुनेछ । समूह चरणको यो दोस्रो खेल दुवै टोलीका लागि अघिल्लो चरणको यात्रा तय गर्न निकै निर्णायक मानिएको छ ।
यसअघि भएको आफ्नो पहिलो खेलमा इङ्गल्याण्डले क्रोएसियालाई ४–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो । उता घानाले पनि आफ्नो पहिलो खेलमा पानामालाई १–० ले हराउँदै महत्त्वपूर्ण ३ अंक जोड्न सफल भएको थियो । हाल समूह ‘एल’ को अंक तालिकामा इङ्गल्याण्डकाे ३ अंक भने घाना पनि समान ३ अंक सहित दोस्रो स्थानमा रहेको छ । यस समूहका अन्य दुई टोली पानामा र क्रोएसिया भने अंकविहीन छन् ।
आजको खेलमा जित निकाल्ने टोलीले ६ अंकसहित अघिल्लो चरण (नकआउट चरण) मा आफ्नो स्थान करिब सुरक्षित गर्नेछ । यदि इङ्गल्याण्ड विजयी भएमा उसले अन्तिम खेल अगावै अर्को चरणको टिकट पक्का गर्ने प्रबल सम्भावना रहन्छ । घानाका लागि पनि यो खेल जितेमा अघिल्लो चरण पुग्न सहज हुनेछ । तर, खेल बराबरीमा सकिएमा दुवै टोलीको ४–४ अंक हुनेछ र छनोटको अन्तिम निर्णयका लागि समूहको अन्तिम खेलसम्म प्रतीक्षा गर्नुपर्नेछ ।
आजको भिडन्तमा दुवै टोली लगातार दोस्रो जित निकाल्दै समूहको शीर्ष स्थानमा रहन र अन्तिम ३२ को यात्रा तय गर्न मैदान उत्रनेछन् । इङ्गल्याण्ड आफ्नो आक्रामक लयलाई कायम राख्न चाहन्छ भने घाना बलियो रक्षापंक्ति र काउन्टर अट्याकको रणनीतिमा देखिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा