मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसको भूमिका ‘विचित्रको’

annapurnapost.com · Mon Feb 06 01:00:00 GMT 2023

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संसद्मा खेलेको भूमिका विचित्रको भएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री ओलीले भने, ‘कांग्रेसले संसद्मा खेलेको भूमिका विचित्रको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिएर एमालेविरुद्ध उम्मेदवारी दिन छाडेको छैन। अहिले कांग्रेसले आफूलई न सत्ता पक्ष न प्रतिपक्ष भन्न सकेको छ। कांग्रेस पानी बाहिरको माछा जस्तै भएको छ।’ उनले एमालेको पहलमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेदेखि कांग्रेसमा छटपटी भएको धारणा राखे।

‘कांग्रेसका मित्रहरूसँग सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव राम्रो छ। मेरा मित्र देउवालाई आग्रह गर्न चाहन्छु। बृहत्तर राष्ट्रिय हितमा काम गरौं। स्थायित्वको लागि योगदान गरौं। कोही पनि जालन्धर नबनौं,’ उनले भने, ‘राष्ट्रलाई अस्थिरतातर्फ धकेल्दा कसैको पनि हित हुँदैन। धमिलो पानीमा माछा मार्नेको मात्रै हित हुन्छ। आमनागरिक धेरै सचेत भएका छन्।’ उनले संसद्मा कांग्रेसले प्रदर्शन गरेको व्यवहार लोकतन्त्र अनुकूल नभएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)