चैते धानलाई गँबारोको जोखिम
gorkhapatraonline.com · Sun May 31 00:32:12 GMT 2026

बर्दियाको राजापुर र गेरुवा गाउँपालिकामा रोपिएको चैते धान गँबारो किराबाट प्रभावित भएको छ । गँबारो किराका कारण यस वर्षको चैते धानको उत्पादनमा कमी आउने भएपछि किसान चिन्तित देखिएका छन् ।
राजापुर नगरपालिकाका व्यावसायिक किसान तथा गणेशबाबा एग्रोसिड कम्पनीका प्रबन्धक पहारी थारूले गँबारो किराका कारण यस वर्ष धान उत्पादनमा कम्तीमा १० प्रतिशत ह्रास आउने दाबी गर्नभयो । उहाँले हरेक वर्ष गँबारोको प्रकोप बढ्दै गएको बताउँदै समयमा किसान र कृषि प्राविधिकले ध्यान नदिँदा धान उत्पादनमा ह्रास आउन थालेको बताउनुभयो ।
गँबारो किरा लाग्ने समय पहिचान गरेर गँबारो किरा लागेको पाइएमा विषादी छर्कनुपर्ने बताउँदै उहाँले अब उत्पादन हुने समय भएकाले केही गर्न नसकिने बताउनुभयो । गेरुवा गाउँपालिका–१, जनकनगरका किसान फत्तेसिंह वैद्यले गँबारो किरा गत वर्षको भन्दा बढी लागेको बताउनुभयो । थाहा पाउने र प्राविधिक सल्लाह लिने किसानले विषादी र मोहनी पासोको प्रयोग गरेर किराको प्रभाव घटाएको बताउँदै थाहा नपाउने किसानको धेरै नोक्सान भएको बताउनु भयो । गेरुवा गाउँपालिका–४, गिदरपुरका किसान सीताराम चौधरीले पनि गत वर्षको तुलनामा यस वर्ष चैते धानमा गँबारो किरा बढी लागेको बताउनुभयो ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख वीरेन्द्र पराजुलीले हरेक तीन/चार वर्षमा कुनै न कुनै किराको प्रकोप आउने गरेको बताउँदै नियन्त्रणका उपाय अपनाएका कारण महामारीका रूप नआएको बताउनुभयो । सामान्यतया बर्खे धानभन्दा चैते धानमा रोग किरा लाग्ने भएकाले विषादी बाँड्ने तथा किरा नियन्त्रणका उपाय सिकाउने गरिएको बताउनुभयो । उहाँले अझै सामान्य स्थिति भएको हुनाले उत्पादनमा खासै ह्रास नआउने दाबी गर्नुभयो ।
यस वर्ष बर्दियामा ७५० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको छ । जसमा चार हजार ४२५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा सात सय हेक्टरमा चैते धान रोपिएको थियो । सरकारले धान उत्पादनमा आत्मनिर्भर गराउनका लागि र चैते धान प्रवर्धन गर्नका लागि आव २०७३/७४ मा धान जोन कार्यक्रम साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम लागु गरेको थियो । आव २०७५/७६ मा धान सुपर जोन कार्यक्रम लागु गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)