मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

के विश्वकपको पहिलो खेलसम्म मैदानमा फर्कन सक्लान् नेयमार ?

hamrakura.com · Sun May 31 00:00:00 GMT 2026

काठमाडौँ । ब्राजिलका अग्रपङ्तीका चर्चित फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस जुनियर्स (नेयमार) पिँडुलाको समस्याका बाबजुद विश्वकपको पहिलो खेलका लागि तयार हुन सक्ने ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले शनिबार बताएका छन्।

विश्वकप नजिकिँदै गर्दा ३४ वर्षीय यी ब्राजिलियाली स्टार खेलाडी चोटका कारण तीन हप्ताका लागि मैदान बाहिर हुन सक्ने रिपोर्टहरू सार्वजनिक भएका थिए। तर, प्रशिक्षक एन्सेलोट्टीले ती रिपोर्टहरूको खण्डन गर्दै नेयमार जुन १३ मा मोरक्कोविरुद्ध न्यु जर्सीमा हुने पहिलो खेलका लागि निको हुने गरी उपचार भइरहेको स्पष्ट पारेका हुन्।

इटालियन प्रशिक्षक एन्सेलोट्टीले नेयमारको पुनरागमनबारे थप प्रष्ट पार्दै भनेका छन्, “हामीलाई विश्वास छ कि उनी चाँडै मैदानमा फर्कनेछन् र यदि उनले पहिलो खेल खेल्न सकेनन् भने पनि दोस्रो खेलका लागि अवश्य तयार हुनेछन्।”

बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पिएसजी) का यी पूर्व स्टार खेलाडीले विश्वकपअघि हुने पानामा र इजिप्टविरुद्धका मैत्रीपूर्ण खेलहरू भने खेल्ने छैनन्। ब्राजिलले आइतबार माराकाना रङ्गशालामा पानामासँग खेल्दै छ भने जुन ६ मा क्लिभल्याण्डमा इजिप्टसँग आफ्नो अन्तिम अभ्यास खेल खेल्ने तालिका रहेको छ।

विश्वकपका लागि एन्सेलोट्टीले घोषणा गरेको २६ सदस्यीय टोलीमा नेयमारलाई समावेश गरिनु आफैँमा आश्चर्यको कुरा थियो। चोटपटक र पछिल्लो समय खेलमा देखिएको कमजोर प्रदर्शनका कारण उनी लगभग तीन वर्षदेखि राष्ट्रिय टोलीमा छनोट हुन सकेका थिएनन्।

यद्यपि, नेयमारको उपस्थिति ब्राजिलका लागि सधैँ महत्त्वपूर्ण रहँदै आएको छ। उनी सेलेकाओ (ब्राजिलियन टोली) का लागि १२८ खेलमा ७९ गोल गर्दै ब्राजिलको इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडी हुन् र यो उनको विश्वकप खेलमा चौथो प्रवेश हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)