इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
ratopati.com · Tue Jun 23 22:39:10 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत बुधबार घानाविरुद्धको खेलमा इङ्गल्याण्डले बलमाथि पूर्ण नियन्त्रण राखे पनि गोल गर्न नसक्दा विश्वकप इतिहासमै एउटा बिर्सनलायक कीर्तिमान आफ्नो नाममा लेखाएको छ । सन् १९६६ यताको तथ्याङ्क अनुसार इङ्गल्याण्ड गोल नगरी सर्वाधिक बल आफ्नो नियन्त्रणमा राख्ने विश्वकै पहिलो टोली बनेको हो ।
घानाविरुद्धको गोलरहित बराबरीमा इङ्गल्याण्डले ७८.८ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको थियो । विश्वकपको इतिहासमा गोल गर्न नसकेको कुनै पनि खेलमा यो हालसम्मकै उच्च बल पोजेसन हो । इङ्गल्याण्डले खेलभरि नै घानालाई दबाबमा राखे पनि उसको रक्षापंक्ति तोड्न नसक्दा यो दुर्लभ तथ्याङ्क बनेको हो ।
यसअघि यो कीर्तिमान टर्कीको नाममा थियो । जारी विश्वकपमै पराग्वेविरुद्धको खेलमा टर्कीले ७८.५ प्रतिशत बल पोजेसन राखेर पनि गोल गर्न सकेको थिएन । इङ्गल्याण्डले सोही रेकर्डलाई उछिन्दै नयाँ इतिहास बनाएको हो । यस सूचीमा सन् २०२२ मा मोरक्कोविरुद्ध ७६.८ प्रतिशत बल नियन्त्रण राखेर गोल गर्न नसकेको स्पेन तेस्रो स्थानमा छ ।
त्यसैगरी, सन् २०१४ मा ग्रिसविरुद्ध ७५.८ प्रतिशत बल नियन्त्रण राखेको जापान र सन् २०१८ मा दक्षिण कोरियाविरुद्ध ७५ प्रतिशत बल पोजेसन राखेर पनि गोल गर्न नसकेको जर्मनी क्रमशः चौथो र पाँचौँ स्थानमा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा