ब्राउन सुगरको भूमिगत अर्थतन्त्र
nepalnews.com · Sun May 31 04:15:07 GMT 2026

गत ७ वैशाखको राति ८:२० बजे प्रहरीले मोरङको रतुवामाई नगरपालिकामा ब्राउन सुगर (खैरो हेरोइन) कारोबारी पक्रन हवाई फायर गर्यो। यस क्रममा रतुवामाई नगरपालिका-१ हटियाडाँडाका २१ वर्षीय आविद मियाँ पक्राउ परे। मियाँ बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकलमा ब्राउन सुगर लिएर भारतबाट नेपाल आउँदै थिए।
मियाँ नेपाली भूमि टेकेका मात्रै थिए, प्रहरीले घेरा हाल्यो। उनले मोटरसाइकल हुइँक्याउन थालेपछि प्रहरीले पेस्तोलबाट दुई राउन्ड गोली चलाएको थियो। उनको साथबाट ४४७.८९० ग्राम ब्राउन सुगर बरामद भएको थियो। इलाका प्रहरी कार्यालय सिजुवाले मुद्दा चलाएकामा मियाँ पुर्पक्षका लागि थुनामा छन्।
१२ वैशाखमा बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका-२२, शान्तिचोक नजिकै लागुऔषध कारोबारी समात्न गोली चलायो। यस क्रममा नेपालगन्ज-२२ का २८ वर्षीय दिनेश बासखोरसहित तीन जना ३७० ग्राम ब्राउन सुगरसहित पक्राउ परेको बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी बताउँछन्।
२२ वैशाख २०८२ मा झापा प्रहरीले कनकाई नगरपालिका-५ तल्लो चप्रामारीस्थित सुरुंगा-झापा सडकखण्डमा पनि गोली चलाएको थियो। बीआर ३७९१९८ नम्बरको मोटरसाइकलमा सवार ब्राउन सुगर कारोबारी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो। ती भारतीय २०० ग्राम ब्राउन सुगर र मोटरसाइकल छोडेर भारततिरै फरार भए।
यी विवरण ब्राउन सुगरको ओसारपसार र कारोबारका केही प्रतिनिधि घटना हुन्। पछिल्ला वर्षमा ब्राउन सुगर तस्करी सामान्य चोरीछिपीको धन्दामा सीमित छैन। लागुऔषध कारोबारीहरूले खुला सीमाको आडमा संगठित र दुस्साहसी रूपमा ब्राउन सुगर ओसारपसार गर्न थालेका छन्। यसैअनुसार प्रहरीले लागुऔषध नियन्त्रणका लागि सीमाक्षेत्रमा रातभर गस्ती गर्ने गरेका छन्। यस क्रममा कारोबारीलाई समात्न प्रहरीले हवाई फायर र कतिपय अवस्थामा घुँडामुनि गोली नै चलाउने गरेको छ। बाँके प्रहरीका प्रमुख एसपी जिसी भन्छन्, “ब्राउन सुगरको सञ्जाल सामान्य तस्करीमा सीमित छैन। कारोबारीहरू पक्राउबाट उम्किन ज्यानै जोखिममा राखेर भाग्न खोज्छन्। कहिलेकाहीँ प्रहरीलाई पनि ज्यान जोगाउन र तस्करलाई नियन्त्रणमा लिन गोली चलाउनुपर्ने बाध्यता आउँछ।”
लागुऔषध नियन्त्रण गर्ने ‘महाअभियान’
भारतसँग सीमा जोडिएका नेपालका पूर्वदेखि पश्चिमसम्मका अधिकांश जिल्लामा अहिले ब्राउन सुगरको कारोबार फैलिएको छ। पछिल्ला वर्षमा नेपालको पूर्वी भूभाग यो धन्दाको सबैभन्दा सक्रिय ‘हब’ बनेको छ। खुला सीमा, सहज आवतजावत र सीमापार आपराधिक सञ्जालको पहुँचका कारण पूर्वी नेपालमा ब्राउन सुगरको ओसारपसार, बिक्री र प्रयोग तीव्र गतिमा फैलिँदै गएको छ। लागुऔषधको बढ्दो प्रयोग र कारोबार सतहमा आएपछि प्रहरीले न्यूनीकरणका लागि मोरङमा ‘लागुऔषधविरुद्ध महाअभियान’ सञ्चालन गरेको छ।
सुरुमा लागुऔषध प्रयोग र बेचबिखन बढेको जानकारीका आधारमा प्रहरीले १ वैशाखदेखि एक महिना ‘लागुऔषधमुक्त मोरङ अभियान-२०८३’ सञ्चालन गरेको थियो। अभियानमा लागुऔषध कारोबार र प्रयोगकर्ताको अवस्था चिन्ताजनक देख्यो। मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार एकमहिने अभियानमा ८२१ ग्राम ब्राउन सुगर बरामद भयो। ९२ किलो गाँजा, ४४ एम्पुल, नौ हजार ४६४ चक्की औषधिजन्य लागुऔषध र नौ ग्राम चरेससहित ४३६ जना पक्राउ परे। प्रहरीले ३६ जनालाई मुद्दा चलायो भने ३९७ जनालाई मनोपरामर्शपछि आफन्तको जिम्मा लगायो। यस्तै, तीन जनालाई सुधार केन्द्र पठाएको थियो।
यसपछि १० जेठमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले उद्घाटन गरेर मोरङमा लागुऔषध महाअभियान चलिरहेको छ। महाअभियानमा ब्राउन सुगर नियन्त्रण मुख्य प्राथमिकतामा छ। एसपी कटवाल भन्छन्, “लागुऔषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढिरहेको हुँदा प्रहरीको एकल प्रयासले रोकथाम र न्यूनीकरण गर्न कठिनाइ परेको छ। व्यक्ति, परिवार, समाजसहित सबै क्षेत्र र निकायको साथसहयोग, सहभागिता, सक्रियताका लागि महाअभियान सञ्चालन गरेका हौँ,” भन्छन्।
प्रदेशगत आधारमा हेर्दा कोसीमा लागुऔषध मुद्दा दर्ता बढेका छन्। आर्थिक वर्ष २०८१/८२ को तथ्यांकमा देशभरि लागुऔषधका पाँच हजार ६१ वटा मुद्दा दर्ता भएका थिए। जसमध्ये कोसी प्रदेशमा एक हजार ४३७ मुद्दा दर्ता भएका छन्। उक्त वर्ष सातवटै प्रदेशमा सात हजार ८९० जना पक्राउ पर्दा कोसीमा मात्रै दुई हजार २०३ जना समातिएका थिए। कोसी प्रदेशका १४ जिल्लामध्ये मोरङमा पक्राउ पर्नेको संख्या ठूलो छ। मोरङमा उक्त वर्ष ६११ जना पक्राउ पर्दा ४१७ मुद्दा दर्ता भएका थिए।
लागुऔषध मुद्दाको प्रदेशगत तथ्यांक।
पञ्चवर्षीय तथ्यांकले पनि मोरङमा गाँजा र ब्राउन सुगरको कारोबार बढेको देखाएको छ। मोरङका एसपी कटवालका अनुसार आव २०८१/८२ मा गाँजा ६ हजार ६५० किलो र ब्राउन सुगर एक किलो ७६८ ग्राम बरामद भएको थियो। आव २०७८/७९ मा १९४ ग्राम मात्रै बरामद भएको ब्राउन सुगर पाँच वर्षमा एक किलो ७६८ ग्राम बरामद भइसकेको छ।
मोरङको पञ्चवर्षीय तथ्यांकमा लागुऔषध।
मोरङमा लागुऔषध प्रयोग र कारोबार तीव्र रूपमा फैलिनुको मुख्य कारण खुला सीमा र सीमापार तस्करी सञ्जालको प्रभाव रहेको एसपी कटवाल बताउँछन्। “खुला सीमाको सहज पहुँचले भारतबाट ब्राउन सुगर नेपाल भित्र्याउन कारोबारीलाई झन् सहज बनाएको छ, जसका कारण सीमावर्ती क्षेत्र अहिले लागुऔषध कारोबारको ट्रान्जिट मात्र होइन, उपभोग केन्द्रसमेत बन्दै गएको छ,” कटवाल भन्छन्।
ब्राउन सुगरको अर्थतन्त्र
लागुऔषध कारोबारको सञ्जाल सीमावर्ती सहर वा गोप्य अड्डामा सीमित छैन, देशभर फैलिन थालेको छ। प्रहरीले वैशाखमा देशभरबाट एक हजार ५६ जना कारोबारीलाई पक्राउ गरेको थियो। जसमध्ये कोसी प्रदेशमा सबैभन्दा बढी पक्राउ परेका थिए। काठमाडौँ उपत्यकामा १७१, कोसीमा २०६ जना, मधेसमा ७०, बागमतीमा १५४, गण्डकीमा ५६, लुम्बिनीमा १६९, कर्णालीमा २१ र सुदूरपश्चिम प्रदेशमा १६७ जना पक्राउ परे। यस्तै, लागुऔषध नियन्त्रण ब्युरोले ४२ जनालाई पक्राउ गरेको थियो। उक्त अवधिमा गाँजा एक हजार ८२० किलो, चरेस १९ किलो, ब्राउन सुगर चार किलो, अफिम सात किलो ९७४ ग्राम र कोकिन ३३ ग्राम बरामद भएको थियो।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार आव २०८१/८२ मा ४७.४४६ किलो ब्राउन सुगर बरामद भएको थियो। चालु आव २०८२/८३ को चैतसम्म ३५.४३ किलो ब्राउन सुगर बरामद भएको छ। “बरामद परिमाण हेर्दा ब्राउन सुगरको प्रयोग र कारोबार बढेको देखिन्छ,” ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण कोइराला भन्छन्।
एक वर्षमा ४७ किलोसम्म ब्राउन सुगर बरामद हुनुले यसको कारोबारको आयतन नाप्न सकिने पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी बताउँछन्। उनका अनुसार विश्वव्यापी आँकडा हेर्दा प्रहरीले कुल कारोबारको १५ देखि २० प्रतिशत मात्रै बरामद गर्न सक्छ। “यति ठूलो मात्रामा नेपालमा ब्राउन सुगर कारोबार हुन्छ भने डरलाग्दो अवस्था हो,” ठकुरी भन्छन्, “यसबाट ब्राउन सुगर कति भित्रिन्छ र कारोबार हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ। प्रहरीले बरामद गर्ने भनेको १५ देखि २० प्रतिशत मात्रै हो।”
प्रहरीका अनुसार नेपालमा ब्राउन सुगर प्रतिग्राम आठ हजारदेखि १२ हजार रुपैयाँसम्म कारोबार हुने गरेको छ। यस हिसाबले एक किलो ब्राउन सुगरको नेपालमा एक करोड २० लाख रुपैयाँ पर्छ। आव २०८१/८२ मा बरामद भएको ब्राउन सुगर (४७.४४६ किलो)लाई कारोबार रकममा बदल्दा ५६ करोड रुपैयाँ हुन्छ। “एक वर्षमा प्रहरीले बरामद गरेको यो परिमाणको ब्राउन सुगर कुल कारोबारको १५ देखि २० प्रतिशत मात्रै हुँदा पनि डरलाग्दो छ,” पूर्वडीआईजी ठकुरी भन्छन्। कुल कारोबारको हिसाब जोड्ने हो भने रकमको आँकडा अर्बौं पुग्छ।
सेतो हेरोइन।
नेपाली बजारमा ब्राउन सुगर सानो सानो एकाइ (मिलिग्राम)मा बेचबिखन हुन्छ। रसायनयुक्त अन्य लागुऔषधभन्दा केही सस्तो र सीमा क्षेत्रतिर सहजै उपलब्ध हुने भएकाले ब्राउन सुगरको प्रयोग बढेको प्रहरीको दाबी छ।
ब्राउन सुगर अफिमबाट बन्छ। अफिमको मोर्फिन निकालेर इसिटिक इनहाइड्राइड नामक रसायन मिसाएर प्रयोगशालामा प्रशोधन गरेपछि ब्राउन सुगर अर्थात् खैरो हेरोइन बन्छ। प्रयोगशालामा विशिष्ट प्रशोधन गरेको हेरोइन भने सेतो हुन्छ। ब्राउन सुगर बनाउन कुनै कारखाना नचाहिने भएकाले अफिम खेती हुने ठाउँमा सजिलै बन्न सक्ने पूर्वडीआईजी ठकुरी बताउँछन्। रसायन मिसाएर व्यक्तिगत तहमै बनाउन सक्छन्। “अफिम खेती भएको ठाउँमा ब्राउन सुगर सजिलै बन्छ,” उनी भन्छन्।
अफिम खेती।
पूर्वडीआईजी ठकुरीका अनुसार नेपालसँग जोडिएका भारतका केही ठाउँमा अफिम खेती गरिन्छ। जसमा नेपालको दक्षिणी सीमासँग जोडिएका बारबंकी र गोन्डा पर्छन्। नेपालमा समेत अफिम खेती फस्टाइरहेको छ। उक्त अफिम भारतमा तस्करी हुने गरेको छ। नेपालमा जति ठाउँमा अफिम खेती गरिएको छ, त्यो भारतीय तस्करहरूको स्वार्थमा भइरहेको ठकुरीको दाबी छ। “नेपालमा प्रयोग भइरहेको ब्राउन सुगर भारतको मात्रै नभएर यहाँको पनि हो,” उनी भन्छन्। मकवानपुर, धादिङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, बागलुङ, कालीकोट जिल्लामा अफिम खेती रहेको ब्युरोले जनाएको छ।
भारत, अफगानिस्तान, म्यानमार, पाकिस्तान, मेक्सिको जस्ता मुलुकमा बन्ने उच्च कोटिको हेरोइन दक्षिण एसिया, युरोप र अमेरिकी मुलुकसम्म पुग्ने गरेको छ। अफगानिस्तान, म्यानमार र पाकिस्तानमा बन्ने सेतो रङको हेरोइन नेपाल ट्रान्जिट भएर युरोप जाने गरेको पूर्वडीआईजी ठकुरी बताउँछन्।
नेपालमा प्रयोग हुने ब्राउन सुगर निम्नकोटिको हेरोइन हो। खैरो रङको हुने भएकाले यसलाई खैरो हेरोइन भनिन्छ। पूर्ण रूपमा शुद्धीकरण नगरिएको मोर्फिन र रसायनबाट बन्ने हेरोइन खैरो हुन्छ। “दुई छिमेकी मुलुक भारत र चीन बढी रसायन उत्पादन गर्ने देश हुन्, त्यस्तो रसायन नेपालमा ल्याएर समेत ब्राउन सुगर बनाउने गरिन्छ,” ठकुरी भन्छन्।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्ले लागुऔषधविरुद्धको महाअभियान मोरङमा मात्रै नभएर क्रमिक रूपमा अन्य जिल्लामा पनि चलाइने बताउँछन्। “अभियान देशव्यापी बनाउँछौँ, यसमा प्रयोगकर्तालाई परामर्श दिने वा सुधारगृहमा लैजाने, कारोबारीलाई हदैसम्मको कारबाही गर्ने योजना छ,” काफ्ले भन्छन्, “लागुऔषध नियन्त्रण गर्न सीमाक्षेत्रमा प्रहरीको कडा निगरानी रहन्छ।”
नेपालमा लागुऔषधको चुनौती
२०७६ सालमा गृह मन्त्रालयले गरेको ‘लागुऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६’ अनुसार नेपालमा एक लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता थिए। जसमध्ये पुरुष ९३.३ र महिला ६.७ प्रतिशत थिए। त्यसयता यस्तो सर्वेक्षण नभएकाले हाल लागुऔषध प्रयोगकर्ता कति छन् भन्ने यकिन तथ्यांक छैन। २०६९ देखि २०७६ सालसम्मको तथ्यांक हेर्दा भने प्रयोगकर्ताको वार्षिक वृद्धिदर पाँच प्रतिशत रहेको उक्त सर्वेक्षणले देखाएको थियो।
नेपालमा लागुऔषधका सुरुआती प्रयोगकर्ताहरूले मुख्य गरी आठ किसिमका लागुऔषध सेवन गर्छन्। जसमध्ये गाँजा प्रयोगकर्ता ८०.४ प्रतिशत छन्। कुल प्रयोगकर्तामध्ये औषधिजन्य डाइजेपाम ९.४ र अफिमजन्य पदार्थ प्रयोग गर्ने ४.७ प्रतिशत रहेको उक्त सर्वेक्षणमा उल्लेख थियो। तर, अहिले डाइजेपामका सेवनकर्तालाई अफिमजन्य पदार्थ ब्राउन सुगरले उछिनेको आकलन प्रहरीको छ। “नयाँ सर्वेक्षण नभएकाले यसै हो भनेर किटान गर्न सकिन्न, तर अफिमबाट बनाइने ब्राउन सुगरको कारोबार र प्रयोग बढेको देखिन्छ,” केन्द्रीय प्रहरी प्रवक्ता, डीआईजी काफ्ले भन्छन्।
लागुऔषध सर्वेक्षण, २०७६ अनुसार प्रयोगकर्ता प्रतिशतमा।
नेपाल प्रहरीको अर्को एउटा तथ्यांकले लागुऔषधले समाज आक्रान्त बनिरहेको देखाउँछ। प्रहरीका अनुसार २०७८ साल कात्तिकमा रहेका २६ हजार कैदीबन्दीमध्ये २१ प्रतिशत लागुऔषध मुद्दाका थिए। यो तथ्यांक बढेर २०८३ सालमा आइपुग्दा २४.५ प्रतिशत पुगेको ब्युरो प्रमुख एसएसपी कोइराला बताउँछन्। यसले कारागारमा रहेका कैदीको एकचौथाइ जनसंख्या नै लागुऔषध मुद्दाको रहेको देखाउँछ। अहिले कारागारमा २६ हजार ८४२ कैदी छन्। लागुऔषध प्रयोगका कारण सिर्जित अन्य समस्या थुप्रै छन्। लागुऔषधले चोरी, डकैती जस्ता अपराधमा वृद्धि, स्वास्थ्य र मानसिक रोग, पारिवारिक झैझगडा, बेरोजगारी, आर्थिक समस्या, आत्महत्या, दुर्घटना, समाजमा डर, अस्थिरता र अशान्ति सिर्जना गर्ने डीआईजी काफ्ले बताउँछन्।
नेपालमा लागुऔषधको मुख्य स्रोत गाँजा हो। त्यसैले गाँजा खेती, उत्पादन तथा बिक्री वितरणमा वर्तमान कानुनी प्रबन्धले रोक लगाएको छ। यस्तो प्रतिबन्ध फुकुवा हुनुपर्ने आमचासो छ। नेपालमा गाँजाको व्यावसायिक खेतीका लागि प्रतिबन्ध फुकुवा भए त्यसबाट मनग्गे आम्दानी हुनुको साथै किसानको जीवनस्तरमा सुधार हुने आमबुझाइ छ। तथापि, नेपालमा पाइने गाँजामा हानिकारक तत्त्व कति मात्रामा पाइन्छ भन्नेबारे हालसम्म अध्ययन भएको छैन। गाँजा प्रशोधन गरेर चरेस बनाइन्छ। नेपालमा गाँजाको मुन्टा रगटेर निस्किने धुलो संकलन गरेर कच्चा चरेस बनाइन्छ। तर, नेपालमा उत्पादित ९० प्रतिशत गाँजा भारतमा लैजाने गरिएको प्रहरीको भनाइ छ। भारतमा प्रशोधनपछि बन्ने चरेस नेपालमै आउने गरेको पूर्वडीआईजी ठकुरी बताउँछन्। भारतमा प्रशोधन हुने चरेस दक्षिण एसिया, युरोप र अमेरिकी मुलुकसम्म पुग्ने उनको दाबी छ। “त्यसैले भारतमा गाँजाको माग धेरै छ, नेपालमा खेती गरिएको गाँजा सीमावर्ती क्षेत्र हुँदै भारत लैजान जोड गर्नुको कारण यही हो,” ठकुरी भन्छन्।
नियन्त्रणमा छैन राज्यको लगानी
लागुऔषधको अवैध उत्पादन, प्रयोग, ओसारपसार तथा सञ्चय नियन्त्रण तथा रोकथामका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रयास हुँदै आएका छन्। नेपालमा लागुऔषध नियन्त्रण ऐन, २०३३ कार्यान्वयनमा आएपछि लागुऔषध नियन्त्रणमा सरकारी तवरबाट काम सुरु भएको हो। लागुऔषध प्रयोगकर्ता घटाउने गरी गृह मन्त्रालयले सचेतनाका काम गर्ने गरेको छ।
तर, गृह मन्त्रालयको लागुऔषध नियन्त्रित प्रतिकार्य लगभग शून्य छ। गृह मन्त्रालय नेपालमा औषधिजन्य लागुऔषध प्रयोगकर्तालाई लक्षित गरी सुधारात्मक कार्यक्रम मात्रै सञ्चालन गर्छ। जसमा लागुऔषध दिवस मनाउने, पुन:स्थापना केन्द्रको अनुगमन गर्ने, तालिम दिने कार्यक्रमहरू मात्रै छन्। यसबाहेक २०८१ सालबाट गृह मन्त्रालयले औषधिजन्य लागुऔषधको नियन्त्रणका निम्ति कार्यक्रम सञ्चालन गर्न एउटा जिल्लालाई दुईदेखि पाँच लाख रुपैयाँ बजेट दिने गरेको छ। साथै, मन्त्रालयले लागुऔषध ओसारपसार हुने जिल्लामा कडा निगरानी गर्न प्रहरीलाई निर्देशन मात्रै दिने गरेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले भन्छन्, “मन्त्रालयले सुधारात्मक अभियानका लागि केही बजेट दिने, सरोकारवालाहरूसँग समन्वय गरी तालिम, अनुगमन गर्ने गर्छ।”
पश्चिमा मुलुक हुँदै नेपाल भित्रिने महँगो लागुऔषध नियन्त्रणबारे गृह मन्त्रालयसँग योजना छैन। लागुऔषधका अन्तर्राष्ट्रिय कारोबारीबारे सूचना संकलन गर्न प्रहरी एक्लाएक्लै जोखिमपूर्ण तरिकाले प्रयोगकर्ताको भेषमा परिचालन भइरहेका छन्। त्यस्ता कारोबारी प्रहरीभन्दा धेरै गुणा अगाडि छन्। लागुऔषध नियन्त्रण ब्युरो स्रोतसाधनयुक्त छैन। दैनिक प्रशासनिक कार्यको संरचनात्मक सुधारका निम्ति स्रोतसाधनकै अभाव छ। सूचना संकलनका लागि चाहिने बजेटसमेत अन्य निकायसँग माग्नुपर्ने अवस्था छ। “लागुऔषध नियन्त्रणमा प्रभावकारी काम गर्न प्रहरीलाई स्रोत आवश्यक पर्ने भएकाले राज्यले लगानी गर्नुपर्छ,” पूर्वडीआईजी ठकुरी भन्छन्, “राज्यले लगानी नगरेको अवस्थामा सहयोग मागेको भरमा प्रहरीले प्रभावकारी कदम चाल्न सक्दैन।”
नेपालमा हुने लागुऔषध कारोबारमा भारतीय र केही संख्यामा अन्य देशका नागरिकसमेत सक्रिय छन्। प्रहरी प्रधान कार्यालयका अनुसार चालु आव २०८२/८३ को वैशाखसम्म सात हजार २९ जना लागुऔषध कारोबारी पक्राउ परेकामा ३१४ जना भारतीय थिए। यस अवधिमा अन्य मुलुकका १२ जना पक्राउ परेका थिए। यस्तै, अघिल्लो आव २०८१/८२ मा सात हजार ८९० जना पक्राउ परेकामा भारतीय ३९५ र अन्य देशका २० जना थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)