कांग्रेस नेतृत्वलाई भूपेन्द्रजंग शाहीको ५ प्रश्न
setopati.com · Sun May 31 04:19:12 GMT 2026

नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले क्रियाशील सदस्यता अद्यावधिकबारे पार्टी नेतृत्वसँग ५ प्रश्न गरेका छन्।
एक प्रेस विज्ञप्ति निकाल्दै शाहीले १५ औं महाधिवेशनका लागि आफूले क्रियाशील सदस्यता नवीकरण गरिसके पनि किन अद्यावधिक गर्नुपर्ने हो भन्ने प्रश्न गरेका छन्।
कांग्रेसले गत पुसमा नियमित महाधिवेशन गर्न भन्दै त्यसअघि क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण गरेको थियो।
तर कांग्रेस संस्थापनले विधानअनुसार वर्षेनि क्रियाशील नवीकरण गर्नुपर्ने र पहिले गरेको नवीकरण २०८२ सालसम्मको लागि मात्रै भएकोले अहिले अद्यावधिक गर्न लागिएको बताउने गरेको छ।
कांग्रेसले जरा अभियानसँगै क्रियाशील अद्यावधिक अभियान सञ्चालन गरिरहेको छ। जेठ २१ गतेभित्र क्रियाशील अद्यावधिक गर्न र नगरे १५ औं महाधिवेशनमा सहभागी हुन नपाउने चेतावनी कांग्रेसले दिएको छ। १५ औं महाधिवेशन आगामी असोजमा तोकिएको छ।
तर नेता भूपेन्द्रजंग शाही भने १५ औं महाधिवेशनका लागि भनेर क्रियाशील नवीकरण गरिसकेको बताउँछन्। कांग्रेसमा महाधिवेशनका बेला विधान निलम्बन गरी वर्षेनि गर्नुपर्ने क्रियाशील नवीकरण एकै पटक हुने हुने व्यवस्था गरिँदै आइएको थियो।
‘नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनका लागि मैले क्रियाशील सदस्यता पहिला नै नवीकरण (अध्यावधिक) गरिसकेको छु।अहिले आएर उही कुरा फेरि अध्यावधिक गर भनेर दबाब दिनु सरासर गलत हो,’ शाहीको भनाइ छ, ‘पार्टी कसैको पेवा र बपौती होइन। कसैको धम्की, लहड र मनपरीतन्त्रबाट पार्टी चल्दैन। हामी कसैको दास र लास होइनौं। बदलिएको भनिएको कांग्रेस ले गर्न खोजेको के हो?’
उनले पार्टी नेतृत्वलाई ५ प्रश्न पनि गरेका छन्।
पहिलो प्रश्न यस्तो छ- के जेठ २१ भित्र पुन: नवीकरण (अध्यावधिक) नगरे पछि शेखर कोइराला, पूर्णबहादुर खड्का लगायत हामी सबैको सदस्यता खारेज गर्न खोजेको हो?
दोस्रो प्रश्नमा उनी भन्छन्- के अध्यावधिकको नाममा सबैलाई बाहिर राखेर विशेष महाधिवेशन जस्तै कांग्रेस पार्टी एकलौटी कब्जा गर्न खोजेको हो?
साथै तेस्रो प्रश्नबारे उनले भनेका छन्- के हामL पहिला नै नवीकरण गरिसकेकोलाइ पनि फेरि किन अध्यावधिक नगरेको भन्ने बहाना बनाएर जेठ २१ गते पछि हाम्रो सदस्यता रद्द गरेर के पार्टी विभाजन गर्ने षड्यन्त्र हो?
चौथो प्रश्न- जेठ २१ पछि के हामी सदस्यताविहीन भएर स्वतन्त्र नागरिकको हैसियतमा स्वतन्त्र रहनु पर्ने हो?
पाँचौं प्रश्न उनको छ- अनि के बदलिएको कांग्रेसले हाम्रो सदस्यता खारेज गरेपछि, हामीले अगाडी नै बुझाएको नवीकरणको शुल्क फिर्ता गर्छ कि आफै पचाउँछ?
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)