अमेरिकाकी उपविदेशमन्त्री सारा बी रोजर्स काठमाडौँ
barnanmedia.com · Sun May 31 04:38:10 GMT 2026

अमेरिकाकी उपविदेशमन्त्री सारा बी रोजर्स काठमाडौँ आइपुगेकी छन्।
अमेरिकी सार्वजनिक कूटनीति उपमन्त्री रोजर्स नयाँ दिल्लीबाट शनिबार राति काठमाडौँ आइपुगेकी हुन्।
उनी अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री हुन्। वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठनपछि नेपाल आउन आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्।
शाहको नेतृत्वमा सरकार गठन भएयता अमेरिकी उच्चस्तरीय अधिकारीहरूले नेपाल भ्रमण गरिरहेका छन्। यसअघि दक्षिण तथा मध्यएसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका दक्षिण तथा मध्यएसिया विशेषदूत सर्जियो गोर नेपाल भ्रमणमा आएका थिए।
शनिबार काठमाडौँ आइपुगेकी उपविदेशमन्त्री रोजर्स नेपालसहित भारत, उज्बेकिस्तान र तुर्कमेनिस्तानको पनि भ्रमण गर्नेछिन्। अमेरिकी उपविदेशीमन्त्रीको पदभार ग्रहणपछि उनी पहिलो पटक मध्यएसियाको भ्रमणमा आएकी निस्केकी हुन्।
रोजर्स काठमाडौँस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले सगरमाथा आरोहण गरेको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने भएकी छन्। हार्करले जेठ ६ गते सगरमाथाको आरोहण गरेका थिए।
यसै अवसरमा अमेरिकी दूतावासले रोजर्सको सम्मानमा आइतबार ‘द एसेन्ट समिट’ नाम दिएर विशेष समारोह आयोजना गरेको छ। यस समिटमा उनी प्रमुख अतिथिका रुपमा सहभागी हुने जनाइएको छ।
रोजर्सको नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक गरिएको छैन। उनले नेपाल भ्रमणका क्रममा राजनीति दलका नेता, मन्त्री तथा कूटनीतिज्ञलाई भेट्ने जनाइएको छ।
यसअघि नेपालमा भ्रमणका आएका अमेरिकी सहायक विदेशमन्त्री कपुरले पनि रास्वपा सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए। त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्यएसिया विशेषदूत गोरले पनि परराष्ट्रमन्त्री खनाल र अर्थमन्त्री वाग्लेसँग भेटवार्ता गरेका थिए।
उनीहरूको पनि प्रधानमन्त्री शाहसँग भेट भएको थिएन। रोजर्सले पनि प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने वा नगर्ने भन्ने केही खुलाइएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)