संस्थागत परिवर्तन र सुशासनको पक्षमा
gorkhapatraonline.com · Wed Jun 24 00:12:28 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीको आगामी कार्यदिशाका सन्दर्भमा गहन विमर्श भइरहेको छ । महाधिवेशन जारी रहँदा जेनजी जनआन्दोलनका अगुवाले आर्थिक विकासको पद्धति, वातावरणीय सङ्कट एवं सुशासनका सन्दर्भमा रास्वपाको प्रस्ट अवधारणा प्रस्तुत गर्न सुझाव दिनुभएको छ ।
सामाजिक अभियन्ता एवं जेनजी जनआन्दोलनका अगुवा मोनिका निरौला, आन्दोलनका घाइते विजेश तामाङ र जेनजी अभियन्ता प्रवेश दाहालले सबै नागरिकको हक अधिकारको प्रत्याभूति गर्दै परिवर्तन संस्थागत र सुशासन कायम गर्ने गरी नीति बनाउन सुझाव दिनुभएको हो । अभियन्ता निरौलाले ‘विकास कसका लागि र कसरी’ भन्ने सन्दर्भमा विकासको सैद्धान्तिक रूपमा स्पष्ट अवधारणा आउनुपर्ने बताउनुभयो ।
उहाँले सहरी गरिबको व्यवस्थापन, आदिवासी जनजाति समुदायको भूस्वामित्व रक्षा र वातावरणीय सन्तुलन कायम गर्दै गरिने विकासले नै नागरिकको जीवनमा वास्तविक परिवर्तन ल्याउने भएकाले यस सन्दर्भमा विमर्श गर्न आग्रह गर्नुभयो । घाइते तामाङले जेनजी जनआन्दोलन राजनीतिक रूपान्तरणको प्रतिविम्ब रहेको बताउँदै सुशासनका पक्षमा जग बसाल्ने नेतृत्वको सम्मान गरी विधिको शासन स्थापित गर्ने यात्रामा अघि बढ्न रास्वपालाई सुझाव दिनुभयो ।
जेनजी अभियन्ता प्रवेश दाहालले रास्वपाको महाधिवेशनले राष्ट्र निर्माण र सुशासनका पक्षमा स्पष्ट मार्गचित्र कोर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीले सरकारको स्थायित्व र सुशासनलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । दाहालका अनुसार नयाँ पुस्ताको भावनालाई सम्बोधन गर्दै महाधिवेशनले मुलुकको शासकीय सुधार र भ्रष्टाचार नियन्त्रणमा ठोस निर्णय लिनु आवश्यक छ । अभियन्ताद्वय निरौला र दाहालले मुलुकमा व्याप्त भ्रष्टाचारका फाइल खोलिनु सकारात्मक भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)