मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्रिस्टियानो रोनाल्डोको ऐतिहासिक उपलब्धि : लगातार छ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी

kalakarmi.com · Wed Jun 24 00:12:00 GMT 2026

काठमाडौं— पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा अर्को ऐतिहासिक कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । उनले फिफा विश्वकपका लगातार छ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेर विश्व फुटबलमा नयाँ इतिहास रचेका छन् ।

सन् २०२६ को फिफा विश्वकपअन्तर्गत उज्बेकिस्तानविरुद्ध भएको खेलमा गोल गर्दै रोनाल्डोले यो दुर्लभ उपलब्धि हासिल गरेका हुन् । यससँगै उनले विश्वकपका २००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६ गरी लगातार छ संस्करणमा गोल गर्ने कीर्तिमान कायम गरेका छन् ।

विश्व फुटबलमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका रोनाल्डोले आफ्नो करिअरभरि अनेकौं कीर्तिमान बनाएका छन् । तर विश्वकपजस्तो प्रतिष्ठित प्रतियोगिताका लगातार छ संस्करणमा गोल गर्नु उनको करिअरकै सबैभन्दा महत्वपूर्ण उपलब्धिमध्ये एक मानिएको छ । यसअघि उनी लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए। अहिले उनले आफ्नै कीर्तिमानलाई थप उचाइमा पुर्‍याएका छन् ।

४१ वर्षको उमेरमा पनि रोनाल्डोले उच्च स्तरको फिटनेस, खेलप्रतिको समर्पण र गोल गर्ने क्षमतामार्फत आफू अझै पनि विश्व फुटबलका शीर्ष खेलाडीमध्ये एक रहेको प्रमाणित गरिरहेका छन् । उमेरसँगै अधिकांश खेलाडीहरूको प्रदर्शनमा गिरावट आउने भए पनि रोनाल्डोले भने निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आलोचकहरूलाई जवाफ दिँदै आएका छन् ।

फुटबल विश्लेषकहरूका अनुसार लगातार दुई दशकभन्दा बढी समयसम्म विश्वस्तरीय प्रदर्शन कायम राख्नु आफैंमा असाधारण उपलब्धि हो। रोनाल्डोले क्लब तथा राष्ट्रिय टोली दुवैतर्फ गोलको वर्षा गर्दै आएका छन्, जसका कारण उनलाई आधुनिक फुटबलका महानतम खेलाडीमध्ये एक मानिन्छ ।

रोनाल्डोसँगै अर्जेन्टिनाका कप्तान लियोनेल मेसी पनि विश्वकपका छ संस्करणमा सहभागी भएका खेलाडीमध्ये पर्छन्। तर लगातार सबै संस्करणमा गोल गर्ने कीर्तिमान भने रोनाल्डोकै नाममा रहेको बताइएको छ। यसले दुई महान खेलाडीबीचको ऐतिहासिक प्रतिस्पर्धामा रोनाल्डोको नाममा अर्को विशेष उपलब्धि थपिएको छ ।

सामाजिक सञ्जालमा पनि रोनाल्डोको यो उपलब्धिको व्यापक चर्चा भइरहेको छ । विश्वभरका फुटबल समर्थक, पूर्व खेलाडी तथा विश्लेषकहरूले उनलाई बधाई दिँदै यो कीर्तिमानलाई फुटबल इतिहासको दुर्लभ उपलब्धिका रूपमा व्याख्या गरेका छन् ।

विश्व फुटबलमा कीर्तिमानमाथि कीर्तिमान बनाउँदै आएका क्रिस्टियानो रोनाल्डोको यो नयाँ उपलब्धिले उनको विरासतलाई अझ बलियो बनाएको छ । लगातार छ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेपछि उनले आफूलाई फुटबल इतिहासका सर्वकालीन महान खेलाडीहरूमध्ये एकका रूपमा थप स्थापित गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय