मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उदार अर्थतन्त्र र सामाजिक न्यायको पक्षमा रास्वपा, स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक दस्तावेज पारित (पूर्णपाठ)

aarthiknews.com

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत उपसभापति डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘अर्थ–राजनीतिक प्रस्ताव’ ले पार्टीलाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक शक्तिका रूपमा परिभाषित गरेको छ।

बन्दसत्रमा प्रस्तुत प्रस्तावमा रास्वपा सबै नेपालीको समतामूलक उन्नतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै वैयक्तिक स्वतन्त्रता, मौलिक हकको प्रत्याभूति, विधिको शासन र जवाफदेहीपूर्ण असल शासनमार्फत समावेशी समाज निर्माण गर्ने लक्ष्य अघि सारेको छ।

प्रस्तावमा नेपालको लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। संविधान संशोधन वा पुनर्लेखनको कुनै आवश्यकता परे संविधानले व्यवस्था गरेको प्रक्रियाअन्तर्गत मात्रै अघि बढ्ने उल्लेख गरिएको छ।

रास्वपाले सुशासन, समावेशिता र सामाजिक न्यायलाई लोकतन्त्रको आधारभूत शर्तका रूपमा व्याख्या गरेको छ। राज्यको संरचनात्मक रूपान्तरण, विभेद र असमानताको अन्त्य तथा विविधताको सम्मानमार्फत समतामूलक समाज निर्माण गर्नुपर्ने प्रस्तावमा उल्लेख छ। सामाजिक न्यायको अवधारणा लोककल्याणकारी राज्यसँग जोडिएको भन्दै विकासको मापन आय वृद्धिमा मात्र सीमित नरही रोजगारी विस्तार, सामाजिक सद्भाव र वातावरणीय सन्तुलनमा समेत आधारित हुनुपर्ने धारणा राखिएको छ।

आर्थिक नीतिका सन्दर्भमा प्रस्तावले निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख वाहक मानेको छ। आम नागरिकको जीवनस्तर उकास्ने दीर्घकालीन उपाय उत्पादनशीलता वृद्धि भएको उल्लेख गर्दै निजी लगानी र सक्षम सार्वजनिक सहजीकरणको संयोजनबाट आर्थिक उन्नति सम्भव हुने दृष्टिकोण अघि सारिएको छ।

उद्यमशीलता प्रवर्द्धनका लागि स्वच्छ प्रतिस्पर्धा, प्रभावकारी नियमन, लगानीमैत्री वातावरण र प्रविधिमैत्री संरचनाको आवश्यकता औंल्याइएको छ। राष्ट्रिय पुँजी निर्माणका लागि वैध स्रोतबाट लगानी परिचालन गर्न उदार र प्रोत्साहनमुखी नीतिहरू अपनाइने प्रस्तावमा उल्लेख छ।

विदेश नीतिमा रास्वपाले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशील र अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तलाई आधार मानेर स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। आर्थिक कूटनीतिलाई सुदृढ बनाउँदै व्यापार, प्रत्यक्ष वैदेशिक लगानी र अन्तर्राष्ट्रिय सहकार्यका अवसर विस्तार गर्ने नीति प्रस्तावमा समेटिएको छ।

पार्टीले प्रवासी नेपाली समुदाय (डायस्पोरा) लाई नेपालको आर्थिक तथा कूटनीतिक हितसँग जोड्ने रणनीतिलाई पनि प्राथमिकता दिएको छ। सांस्कृतिक शक्ति र अन्तर्राष्ट्रिय सम्बन्धमार्फत नेपालको आर्थिक तथा राष्ट्रिय हित प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ।

राष्ट्रियता सम्बन्धी धारणा स्पष्ट गर्दै प्रस्तावमा नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताको संरक्षणलाई सर्वोच्च प्राथमिकतामा राखिएको छ। सहअस्तित्व, सहिष्णुता, स्वाभिमान र समभावमा आधारित राष्ट्रिय एकता तथा देशभक्तिको प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

रास्वपाले आफ्नो अर्थ–राजनीतिक प्रस्तावमार्फत लोकतन्त्र, उदार अर्थतन्त्र, सामाजिक न्याय, सुशासन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्ने प्रयास गरेको देखिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)