ट्रम्पको इरान युद्ध नीतिविरुद्ध अमेरिकी कंग्रेसको पहिलो हस्तक्षेप, युद्ध रोक्न प्रस्ताव पारित
nagariknews.nagariknetwork.com · Wed Jun 24 01:50:02 GMT 2026

अमेरिकी कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानविरुद्धको युद्ध नीतिप्रति असहमति जनाउँदै सैन्य कारबाही रोक्न ऐतिहासिक कदम चालेको छ। अमेरिकी संसदले पहिलो पटक ‘वार पावर्स’ सम्बन्धी प्रस्ताव पारित गर्दै ट्रम्प प्रशासनलाई इरानसँगको युद्ध अन्त्य गर्न दबाब दिएको हो।
रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी सिनेटले केही रिपब्लिकन सांसदकै समर्थनमा प्रस्ताव पारित गरेको हो। यसअघि प्रतिनिधिसभाले पनि यही प्रस्ताव पारित गरिसकेको थियो, जसले ट्रम्पको युद्ध रणनीतिप्रति दुवै सदनबाट स्पष्ट असन्तुष्टि देखिएको छ।
मंगलबार भएको मतदानमा केही रिपब्लिकन सांसदहरू पनि डेमोक्र्याट सांसदहरूसँग उभिँदै प्रस्तावको पक्षमा मतदान गरे। ५०–४८ मतसहित पारित भएको यो प्रस्तावले इरानसँगको द्वन्द्व र गत अप्रिलमा भएको युद्धविराम सम्झौताप्रति अमेरिकी संसदभित्र बढ्दो चासो र चिन्ता देखाएको छ।
यसअघि जुन महिनामा अमेरिकी प्रतिनिधिसभाले पनि यही प्रस्ताव पारित गरेको थियो। त्यहाँ चार जना रिपब्लिकन सांसदले सबै डेमोक्र्याट सांसदसँग मिलेर २१५–२०८ मतका साथ प्रस्ताव अनुमोदन गरेका थिए।
यद्यपि, यो प्रस्ताव कानुनी रूपमा बाध्यकारी भने छैन। कंग्रेसका दुवै सदनबाट पारित भए पनि यो राष्ट्रपति ट्रम्पसमक्ष हस्ताक्षरका लागि पठाइने छैन र यसले प्रत्यक्ष कानुनी हैसियत राख्दैन।
यो मतदान सन् १९७३ मा लागू भएको ‘वार पावर्स रेजोलुसन’ पछि पहिलो पटक अमेरिकी कंग्रेसका दुवै सदनले कुनै राष्ट्रपतिलाई सैन्य कारबाही अन्त्य गर्न निर्देशन दिने संयुक्त प्रस्ताव पारित गरेको घटना बनेको छ।
अमेरिकी कानुनअनुसार यस्तो ‘कन्करेन्ट रेजोलुसन’ ले कंग्रेसको धारणा वा इच्छा व्यक्त गर्छ, तर अन्य विधेयकजस्तो राष्ट्रपति समक्ष पुगेर कानुन बन्दैन। यसअघि सन् २०१९ मा ट्रम्पले यमन गृहयुद्धमा अमेरिकी सैन्य संलग्नता हटाउन माग गरिएको संयुक्त प्रस्तावमा भिटो प्रयोग गरेका थिए।
इरान युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्नुका साथै अमेरिकी नागरिकहरूमा युद्धप्रति असन्तुष्टि बढिरहेका बेला यो प्रस्ताव पारित हुनु व्हाइट हाउसका लागि थप राजनीतिक दबाबको विषय बनेको विश्लेषण गरिएको छ।
विशेषज्ञहरूका अनुसार यो कदमले ट्रम्प प्रशासनमाथि इरानसँगको तनाव अन्त्य गर्न कूटनीतिक समाधान खोज्न दबाब अझ बढाउने देखिएको छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
डोनाल्ड ट्रम्प