इंग्ल्यान्डविरुद्ध खेल्दा पार्टेमाथि किन गरे दर्शकले ‘बूड’ ?
nepalpress.com · Wed Jun 24 01:53:24 GMT 2026

काठमाडौँ । घानाका मिडफिल्डर थोमस पार्टेले विश्वकपको समूह ‘एल’ अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा मैदानमा उत्रँदा दर्शकहरुले ‘बूड’ (विरोधमा गरेको हुटिङ) र विपक्षी खेलाडीको व्यवहारका कारण थप ध्यान आकर्षित गरेका छन् ।
अमेरिकाको बोस्टनमा मंगलबार भएको खेलमा इंग्ल्यान्डका समर्थकहरूले पार्टेले बल छोएको लगभग हरेक पटक ‘बूड’ गरेका थिए ।
खेल सुरु हुनुअघि राष्ट्रिय गानपछि भएको औपचारिक अभिवादनका क्रममा इंग्ल्यान्डका डिफेन्डर जेड स्पेन्सले पार्टेसँग हात नमिलाएको जस्तो देखिएको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ ।
पूर्व आर्सनल खेलाडी पार्टेमाथि बेलायतमा सातवटा बलात्कार र दुईवटा यौन दुर्व्यवहारसम्बन्धी आरोप लगाइएको छ । उनले सबै आरोप अस्वीकार गरेका छन् ।
ती आरोपहरू सन् २०२० देखि २०२२ बीच चार फरक महिलाले लगाएका दाबीहरूसँग सम्बन्धित छन् । उनी नोभेम्बर वा त्यसपछि अदालतमा मुद्दाको सुनुवाइका लागि उपस्थित हुने तालिका रहेको बताइएको छ ।
क्यानडाले भिसा नदिएपछि पानामाविरुद्धको पहिलो खेल गुमाएका पार्टे यस खेलमा घानाको टोलीमा फर्किएका थिए । हाल स्पेनिस ला लिगा क्लब भिल्लारियलबाट खेलिरहेका उनले खेलअघि आफू ‘ठीक’ रहेको र खेल्न तयार रहेको बताएका थिए ।
सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले स्पेन्सले हात नमिलाएको घटनालाई लिएर प्रतिक्रिया दिएका छन् । केहीले इंग्लिस डिफेन्डरको कदमको प्रशंसा गरेका छन् भने केहीले अमेरिकाले पार्टेलाई भिसा दिएको विषयमा प्रश्न उठाएका छन् ।
यसै क्रममा मोरक्कोका कप्तान अश्राफ हाकिमीको विषय पनि पुनः चर्चामा आएको छ । उनीमाथि पनि बलात्कारसम्बन्धी आरोप लागेको छ र भविष्यमा अदालतमा सुनुवाइ हुने अपेक्षा गरिएको छ । हाकिमीले पनि आफूमाथिका आरोप अस्वीकार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)