एमालेको चुनौती : नेतृत्व परिवर्तन कि विचारको पुनर्जागरण ?
nepalpress.com · Wed Jun 24 02:08:52 GMT 2026

आज नेकपा (एमाले) भित्र नेतृत्व, पुस्तान्तरण, सङ्गठनात्मक पुनर्गठन र पार्टीको भविष्यबारे प्रदेशस्तरीय बहस चलिरहेको छ । यो स्वाभाविक पनि हो । कुनै पनि जीवित राजनीतिक पार्टीमा विचार, नेतृत्व र कार्यशैलीबारे प्रश्न उठ्छन् । बहस हुन्छन् । मतभेद देखिन्छन् र नयाँ निष्कर्ष खोजिन्छन् । तर यस्ता बहसका बीचमा एउटा कुरा भने बिर्सन मिल्दैन-एमाले आज जुन उचाइमा पुगेको छ, त्यसको इतिहासमा सबैभन्दा प्रभावशाली र निर्णायक पात्रमध्ये एक केपी शर्मा ओली हुन् ।
राजनीतिमा व्यक्तिको मूल्याङ्कन उसको लोकप्रियताको उतारचढावबाट होइन, उसले राष्ट्र र समाजमा छोडेको प्रभावबाट गरिन्छ। इतिहासले क्षणिक नाराभन्दा परिणामलाई हेर्छ। यही दृष्टिकोणबाट हेर्दा ओलीको योगदानलाई केवल वर्तमान राजनीतिक विवादको चस्माबाट मात्र हेर्न सकिँदैन ।
नेपालले आफ्नो आधुनिक इतिहासमा पटक–पटक नाकाबन्दीको पीडा भोग्यो । परनिर्भर अर्थतन्त्र र एकतर्फी व्यापारिक संरचनाले देशलाई असुरक्षित बनाएको थियो । यही यथार्थलाई बुझेर वैकल्पिक व्यापार मार्ग, पारवहन सम्झौता, उत्तरतर्फको पहुँच विस्तार तथा रणनीतिक पूर्वाधार विकासको पहल गर्ने नेतृत्व ओलीकै थियो । नेपालले अब कहिल्यै नाकाबन्दीको त्रासमा बाँच्न नपरोस् भन्ने राष्ट्रिय आत्मसम्मानको अभियान उनले अघि बढाए ।
वर्षौँदेखि राजनीतिक भाषणमा सीमित रहेको चुच्चे नक्सालाई नेपालको आधिकारिक नक्साका रूपमा संविधानमै स्थापित गर्ने साहसिक निर्णय पनि उनकै नेतृत्वमा सम्भव भयो । त्यो केवल नक्सा प्रकाशनको विषय थिएन, त्यो राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र राज्यको आत्मविश्वाससँग जोडिएको विषय थियो ।
ऊर्जा तथा प्राकृतिक स्रोतको क्षेत्रमा दैलेखको पेट्रोलियमको सम्भावनाको खोज, अनुसन्धान र उपयोगको नजिक ल्याउने काम, धौवादी फलाम खानीको अनुसन्धान तथा उत्खनन् प्रक्रियालाई अगाडि बढाउने काम, जलविद्युत् उत्पादन विस्तार, प्रसारण लाइन निर्माण तथा ऊर्जा निर्यातको आधार तयार गर्ने प्रयासहरू पनि दीर्घकालीन राष्ट्रिय महत्वका विषय हुन् । यस्ता कामहरूको राजनीतिक लाभ तत्काल नदेखिएला, तर राष्ट्र निर्माणका दृष्टिले यिनको महत्त्व भविष्यले अझ स्पष्टसँग देखाउनेछ ।
सामाजिक सुरक्षाको क्षेत्रमा पनि एउटा महत्त्वपूर्ण परिवर्तन भयो । दशकौँसम्म सरकारी कर्मचारी, सेना, प्रहरी र सीमित वर्गले मात्र पाउने पेन्सन तथा सामाजिक सुरक्षाको अवधारणालाई विस्तार गर्दै सामाजिक सुरक्षा कोषमार्फत् निजी क्षेत्रका श्रमिक र कर्मचारीलाई समेत राज्यको सुरक्षा घेराभित्र ल्याउने प्रयास गरियो । यो श्रमको सम्मान र सामाजिक न्यायको दिशामा महत्त्वपूर्ण कदम थियो ।
यसको अर्थ केपी ओली आलोचनाभन्दा माथि छन् भन्ने होइन । कुनै पनि नेता त्रुटिरहित हुँदैन । ओलीका निर्णय, शैली र कार्य पद्धतिमाथि प्रश्न उठ्न सक्छन् । आलोचना हुन सक्छ । तर आलोचना र योगदानको निष्पक्ष मूल्याङ्कन सँगसँगै हुनुपर्छ । योगदानलाई मेटाएर आलोचना गर्नु जति गलत हो, कमजोरीलाई ढाकेर प्रशंसा गर्नु पनि त्यत्तिकै गलत हुन्छ ।
आज एमालेभित्र केही साथीहरू नेतृत्व परिवर्तनलाई नै सबै समस्याको समाधानका रूपमा प्रस्तुत गरिरहेका छन् । तर गम्भीर प्रश्न के हो भने-के केपी ओलीलाई नेतृत्वबाट हटाउँदैमा एमालेका चुनौतीहरू समाप्त हुन्छन् ? यदि त्यस्तो हुन्थ्यो भने संसारका धेरै राजनीतिक दलहरूले केवल नेतृत्व फेरेर आफ्ना सबै सङ्कट समाधान गरिसक्थे ।
वास्तविकता के हो भने एमालेका चुनौतीहरू बहु आयामिक छन् । बदलिँदो सामाजिक संरचना, युवा पुस्ताको नयाँ सोच, डिजिटल युगको राजनीति, कमजोर हुँदै गएको जनसम्पर्क, सङ्गठनात्मक शिथिलता र विचारको प्रभावकारी सम्प्रेषणको अभावजस्ता विषयहरू नेतृत्व परिवर्तनभन्दा धेरै ठूला चुनौती हुन् ।
आजको पुस्ता केवल इतिहास सुन्न चाहँदैन, उसले भविष्यको खाका पनि खोज्छ। त्यसैले एमालेले आफ्नो गौरवशाली इतिहासलाई बचाउँदै नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्नुपर्छ । पार्टीलाई नयाँ ऊर्जा चाहिन्छ, नयाँ अनुहार चाहिन्छ, नयाँ शैली चाहिन्छ । तर त्यो परिवर्तन अनुभव र सङ्घर्षलाई निषेध गरेर होइन, त्यसलाई आधार बनाएर हुनुपर्छ ।
कम्युनिस्ट आन्दोलनको इतिहास हेर्दा एउटा सत्य बारम्बार प्रमाणित भएको छ-आफ्नो विरासतलाई अस्वीकार गर्ने आन्दोलन कमजोर बन्छ । तर विरासतलाई आत्मसात् गर्दै आफूलाई समयानुकूल रूपान्तरण गर्ने आन्दोलन दीर्घकालीन रूपमा सफल हुन्छ । एमालेका लागि पनि यही सत्य लागू हुन्छ ।
यदि कसैलाई लाग्छ कि ओली हटेपछि एमाले स्वतः पुरानो उचाइमा फर्किन्छ भने त्यो राजनीतिक विश्लेषणभन्दा बढी भावनात्मक निष्कर्ष हुन सक्छ । व्यक्ति परिवर्तनले केही प्रभाव पार्न सक्छ । तर पार्टीको पुनर्जागरण विचार, सङ्गठन, जनविश्वास, कार्यशैली र समयानुकूल रूपान्तरणबाट मात्र सम्भव हुन्छ ।
आजको आवश्यकता ओलीलाई हटाउने वा बचाउने अभियान होइन । आवश्यकता एमालेलाई आगामी दशकहरूमा पनि नेपाली जनताको आशा, विश्वास र भरोसाको केन्द्र बनाइराख्ने रणनीति निर्माण गर्नु हो । एमालेलाई साँच्चै भविष्यको आशावादी शक्ति बनाउने र भोलि आफूलाई समेत सम्मान गर्ने स्थान कायम राख्ने हो भने अब एमालेका अध्यक्ष केपी ओली मात्र होइन, उपाध्यक्षहरू समेत राजनीतिको केन्द्र भागमा बस्ने चाहना राख्नु हुँदैन ।
एमालेभित्र मात्र होइन, देशमै पनि युवाहरूलाई जनताले राजनीतिको केन्द्र भागमा देख्न चाहेका छन् । एमालेले अब ७० वर्ष होइन, ६० वर्षभन्दा माथिका अधिकांश नेताहरूलाई क्रमशः बहिर्गमनको प्रक्रियामा लैजानुपर्छ । अब विधानमै दुई पटकभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने व्यवस्था गर्नुपर्ने देखिन्छ । दुई पटकभन्दा बढी प्रधानमन्त्री वा मन्त्री नहुने, दुई पटकभन्दा बढी सांसदको टिकट नपाउने, तीन कार्यकालभन्दा बढी एउटै पदमा नबस्ने जस्ता व्यवस्थाबारे गम्भीर बहस हुनुपर्छ ।
अन्ततः इतिहासले व्यक्तिलाई होइन, राष्ट्र र जनताको हितमा काम गर्ने राजनीतिक शक्तिलाई नै दीर्घकालीन सम्मान दिन्छ । र त्यो इतिहास लेख्ने जिम्मा आज एमालेका सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूको काँधमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)