लोमन्थाङ गाउँपालिकाको बजेट ३६ करोड ६५ लाख
gorkhapatraonline.com · Wed Jun 24 02:48:41 GMT 2026

मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३६ करोड ६५ लाख ११ हजार रुपियाँको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ।
मंगलबार आयोजित २२औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष छयुमी बिष्ट गुरुङले बजेट प्रस्तुत गर्नुभएको हो। विनियोजित बजेटमध्ये चालु खर्चतर्फ १८ करोड ७ लाख ३४ हजार रुपियाँ र पुँजीगततर्फ १८ करोड ५७ लाख ७७ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ। कुल बजेटमध्ये चालुतर्फ ४९.३१ प्रतिशत र पुँजीगततर्फ ५०.६९ प्रतिशत रहेको छ।
गाउँसभाले प्रशासनिक खर्चलाई मितव्ययी बनाउँदै विकास निर्माण तथा स्थानीय कला–संस्कृतिको संरक्षणका लागि दिगो पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको उपाध्यक्ष बिष्टले बताउनुभयो।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि सामाजिक विकास क्षेत्रमा ११ करोड ६६ लाख १२ हजार रुपियाँ, पूर्वाधार विकासमा १० करोड ४३ लाख १५ हजार रुपियाँ, आर्थिक विकासमा ७ करोड १७ लाख रुपियाँ, वातावरण, जलवायु परिवर्तन, मानव संशाधन, कार्यालय व्यवस्थापन तथा विपद् व्यवस्थापन क्षेत्रमा ५ करोड ७५ लाख रुपियाँ तथा सुशासन र अन्तरसम्बन्धित क्षेत्रमा १ करोड ५४ लाख ५४ हजार रुपियाँ विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालले जानकारी दिनुभयो।
गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार बजेटले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन, सातौँ शताब्दीमा निर्मित गुम्बाहरूको संरक्षण तथा मर्मत, खेल पर्यटनको विकास, गुफालगायतका सम्पदाको संरक्षण, कोरला नाकामा खानेपानीका लागि भूमिगत ट्याङ्की निर्माण, विपन्न परिवारलाई च्याङ्ग्रा पालनमा अनुदान तथा कृषि, पर्यटन र पशुपालन क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ।
अध्यक्ष गुरुङले सीमित बजेटलाई समुदायको माग र आवश्यकताका आधारमा विनियोजन गरिएको बताउँदै कोरला नाकालगायत ठूला पूर्वाधार निर्माणमा संघीय सरकारको विशेष ध्यान आवश्यक रहेको उल्लेख गर्नुभयो।
गाउँपालिकाका जनप्रतिनिधिहरूले कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण स्थानीय तहको स्रोतबाट सम्भव नभएकाले प्रदेश र संघीय सरकारले प्राथमिकताका साथ लगानी गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं