मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पीएल सिंह मेमोरियल टी–२० कप:पोखरा र वीरगन्ज महानगरपालिका विजयी

neplays.com · Wed Jun 24 02:50:00 GMT 2026

काठमाडौं । राजधानीमा जारी पीएल सिंह मेमोरियल टी–२० कप क्रिकेट प्रतियोगिता अन्तर्गत सम्पन्न खेलहरूमा पोखरा महानगरपालिका र वीरगन्ज महानगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण जित दर्ता गरेका छन्।

प्रतियोगिताको आठौँ खेलमा पोखरा महानगरपालिकाले भरतपुर महानगरपालिकामाथि ६ विकेटको रोमाञ्चक जित हात पारेको छ। खेलमा भरतपुर महानगरपालिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो। पहिले ब्याटिङ गरेको भरतपुरले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सक्यो।

भरतपुरका लागि ओपनर शुभ कंसाकारले २२ बलमा ३० रनको सर्वाधिक योगदान दिए भने सूर्यन्शु कोइराला, गौतम केसी र योगेश बहादुर भाटले समान १७–१७ रन जोडे। पोखराका बलरहरू सुदिप अर्यालले २, अपराजित पौडेलले २, कृष्ण पौडेलले २ र सुवास भण्डारीले २ विकेट लिँदै भरतपुरको ब्याटिङ लाइनअपलाई सस्तैमा समेटेका थिए। १२४ रनको विजयी लक्ष्य पछ्याएको पोखरा महानगरपालिकाले १८.१ ओभरमा ४ विकेट गुमाउँदै १२9 रन बनाएर लक्ष्य सहजै पूरा गर्‍यो।

पोखराको जितमा मुस्कान थापा मगरले उत्कृष्ट इनिङ खेल्दै ४६ बलमा अविजित ५१ रनको अर्धशतकीय योगदान दिए र उनी खेलको 'प्लेयर अफ दि म्याच' घोषित भए। त्यस्तै, प्रतियोगिताको नवौँ खेलमा वीरगन्ज महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ५८ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको छ। खेलमा वीरगन्ज महानगरपालिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रनको चुनौतीपूर्ण योगफल खडा गर्‍यो।

वीरगन्जका लागि अलराउन्डर पवन सर्राफले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा ६३ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले भने अनिल कुमार साहले १७ रनको योगदान दिए। विराटनगरका बलर प्रतिक पोखरेल र दिपेश कँडेलले समान २–२ विकेट लिए। १३६ रनको लक्ष्य पछ्याएको विराटनगर महानगरपालिका वीरगन्जको कडा र कसिलो बलिङ आक्रमणसामु निरिह देखिँदै १८ ओभरमा मात्र ७७ रनमा अलआउट हुन पुग्यो। विराटनगरका लागि प्रेम कामतले अविजित २३ रन र दिपेश कँडेलले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।

विराटनगरलाई सस्तैमा समेट्ने क्रममा वीरगन्जका बलर विशाल पटेलले घातक बलिङ गर्दै ४ ओभरमा मात्र १० रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए। ब्याटिङमा चम्किएका पवन सर्राफले बलिङमा पनि आफ्नो जादु देखाउँदै ४ ओभरमा १५ रन खर्चेर ३ विकेट चट्काए। ब्याटिङ र बलिङ दुवै विधामा उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका पवन सर्राफ खेलको 'प्लेयर अफ दि म्याच' चुनिए।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)

सम्बन्धित विषय