नेपाल–भारत नाकाबाट ४५ लाखभन्दा बढीका अवैध सामान बरामद
gorkhapatraonline.com · Wed Jun 24 02:51:56 GMT 2026

सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण मुख्यालय बागेश्वरी, बाँके तथा मातहतका इकाईहरूले नेपाल–भारत सीमा नाकाका विभिन्न स्थानमा कडाइका साथ निगरानी तथा चेकजाँच सञ्चालन गरी ४५ लाख रुपियाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेका छन्।
सशस्त्र प्रहरीले असारको पहिलो सातामा सञ्चालन गरेको विशेष निगरानी तथा चेकजाँच अभियानका क्रममा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएका ४५ लाख २७ हजार ९९१ रुपियाँ बराबरका विभिन्न सामान बरामद गरेको हो।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण मुख्यालय बागेश्वरी, बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले राजस्व छली गरी अवैध रूपमा सामान भित्र्याउने गतिविधिमाथि निगरानी कडा पारिएकाले सात दिनको अवधिमा ४५ लाख रुपियाँभन्दा बढीका अवैध सामान बरामद गरिएको बताउनुभयो।
उहाँका अनुसार बरामद गरिएका सामानमा लत्ताकपडा, किराना सामग्री, पेय पदार्थ, मोटरसाइकल, ब्रोइलर कुखुरा, फलफूल, तरकारीलगायतका वस्तु रहेका छन्।
तस्करीमा प्रयोग गरिएका मोटरसाइकल तथा संलग्न व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण मुख्यालय बागेश्वरी, बाँकेले जनाएको छ।
बरामद गरिएका सम्पूर्ण सामान तथा नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय, जमुनाहा, बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सरकारले भारतबाट सामान ल्याउँदा तोकिएको सीमा नाघेका वस्तुमा भन्सार राजस्व तिर्नुपर्ने व्यवस्था लागू गरेपछि मुख्य नाकाबाट हुने अवैध आयातमा कमी आए पनि सहायक (साइड) नाकाबाट तस्करी हुने क्रम बढेको बताइन्छ। हाल सरकारले भारतबाट घरायसी प्रयोजनका लागि ५०० रुपियाँसम्मका सामान भन्सार महसुलबिना ल्याउन पाउने व्यवस्था लागू गरेको छ।
मुख्य नाकामा राजस्व सङ्कलन र निगरानी कडा गरिएसँगै सहायक नाकाबाट हुने चोरी–तस्करी नियन्त्रण गर्न त्यस्ता नाकामा समेत निगरानी बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
भन्सार विभाग