मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रियता झल्काउने झन्डा कला महोत्सव

gorkhapatraonline.com · Wed Jun 24 03:10:54 GMT 2026

नेपाली कलाकारको सिर्जनशील समूह ‘आर्ट बुम’ को आयोजनामा ‘झन्डा’ कला महोत्सव २०८३ अन्तर्गत विशेष कला प्रदर्शनी सुरु भएको छ । कला प्रदर्शनीमा नेपाल र संयुक्त अधिराज्य (बेलायत) का स्थापित कलाकारसहित करिब तीन सय जना विद्यालय तहका बालकलाकार र ३३ जना नेपाली वरिष्ठ कलाकारका चित्र प्रदर्शनीमा राखिएका छन् । राष्ट्रको पहिचान बोकेको झन्डाका विषयमा कलाकारले विगत एक वर्षदेखि निरन्तर रूपमा सिर्जना गरेका कला प्रदर्शनीमा भल्कन्छन् ।

आर्ट बुमका संस्थापक एवं कलाकार रत्न शाक्यका अनुसार नेपाली कला जगत्लाई नयाँ ऐतिहासिक ‘मास्टर स्ट्रोक’ दिन यस्तो प्रयास गरिएको हो । संसारकै भिन्न र गौरवशाली नेपाली झन्डालाई कलात्मक रूपमा समाजमा प्रस्तुत गर्नु नै महोत्सवको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो । यस्ता खालका प्रदर्शनीले राष्ट्रिय झन्डाप्रतिको माया, सम्मान र सिर्जनात्मक अभिव्यक्ति झल्काउँछ ।

हाम्रो राष्ट्रिय झन्डाले नेपालीलाई मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्म एकतामा बाँधेको उहाँले बताउनुभयो । “भाषा, धर्मले होइन, झन्डाले मात्रै हामीलाई एकताको रूप दिन्छ । त्यसैले झन्डाको सम्मान गरौँ, यसको महत्व मनन गरौँ । हरेक नेपालीले आफ्नो घरमा गर्वका साथ राष्ट्रिय झन्डा फहराउन पाउने वातावरण बनाऔँ,” उहाँले भन्नुभयो । झन्डा केवल कला प्रदर्शनी मात्र नभई नेपालीपन, सिर्जनशीलता र राष्ट्रिय गौरवलाई रङ र रेखामार्फत अभिव्यक्त गर्ने साझा उत्सवका रूपमा रहने विश्वास गरिएको छ । वरिष्ठ कलाकार किरण मानन्धर, राधेश्याम मुल्मी, जीवनराज उपाध्याय, एनबी गुरुङ, उमेश श्रेष्ठ, रञ्जना लाल, सुषमाराज भण्डारी, आर्यराज भण्डारीलगायतका कलाकारको झन्डाका चित्र प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा पाँच हजारदेखि तीन लाख रुपियाँसम्मका चित्र राखिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)